मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २६ बिहीबार ११:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कसैको अधिकार नखोसिने गरी अगाडि बढ्न जेन–जीलाई गगनको सुझाव

देशमा परिवर्तन खोजिरहँदा पराजयपूर्ण विजय नहोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार ११:५९:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जीले देशमा परिवर्तन खोजिरहँदा पराजयपूर्ण विजय नहोस् भनेर सुझाव दिएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत आफ्ना कुरा राख्दै थापाले जेन–जीको चाहनाअनुसार नै देशलाई अगाडि बढाउने कुरामा दुईमत नरहेको उल्लेख गरे ।

तर, उनले यही संविधानमा टेकेर कसैको अधिकार नखोसीकन अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले नेपालको इतिहासमै नभएको घटना घटेको भन्दै अब नयाँ बन्ने सरकारले कानुन बनाएर शक्तिशाली आयोग बनाई २०४६ सालपछि सरकारमा बसेका एक–एकजनाको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । यसक्रममा उनले आफ्नो पनि सम्पत्ति छानबिन गर्न माग गरे । ‘ममाथि नखाएको विष धेरै लागेको छ, कृपया ममाथि छानबिन होस् र दोषी देखिए कडाभन्दा कडा बारबाही होस् ।’

जेन–जीको नाममा जो–जो संलग्न भएर विध्वंश मच्चाएका छन् तिनीहरूको पनि खोजी गरी कारबाही गर्न माग गरे । उनले धेरै सोचविचार र संयमित भएर निर्णय गर्न जेन–जीलाई सुझाव दिएका छन् । ‘हामीले जे कुरा गर्ने हो कहीँ न कहीँ संविधानमा टेकेर गर्नुपर्छ । कसैलाई आफ्नो अधिकार खोसिएको अनुभूति भए योभन्दा विकराल स्थिति आउनेछ । कसैले पनि आफ्नो अधिकार खोसिएको स्वीकार गर्न सक्दैन । संविधानभन्दा पर जान थाल्यौँ भने यहाँ कसैले कसैलाई सम्हाल्न सक्दैन । त्यसैले जेन–जीले यो कुरा बुझ्नुहुनेछ भन्ने लागेको छ,’ उनले भने । 

गल्ती गरेकालाई सजाय र बाँकी रहेकालाई मिलाएर लैजान पनि उनले जेन–जीलाई सुझाव दिए । जेन–जीप्रति आफूसहित सबै जनताको ठुलो विश्वास रहेकाले चाँडोभन्दा चाँडाे संयमतापूर्वक निकास खोज्न आग्रह गरे । यत्रो आन्दोलन गरेको भन्दै उनले जेन–जीलाई धन्यवाद दिँदै आफूहरू सुध्रिने प्रतिबद्धता व्यक्त गरे ।