
५६ प्रतिशत समय सकिँदा पनि ठेक्का प्राप्त कम्पनी पटेल–रमण जेभीले राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको ‘हेडवर्क्स प्याकेज’को निर्माण कार्य १० प्रतिशत मात्रै गरेको छ ।
सिँचाइ विभागले भारतको पटेल इन्जिनियरिङ र नेपालको रमण कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरसँग परियोजनाको जलविद्युत्को हेडवर्क्स, पावरहाउस, हाइड्रो मेकानिकललगायतका संरचना बनाउन १७ पुस ०७९ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा ५५ महिना अर्थात् १८ असार ०८४ सम्मको म्याद दिइएको छ । करसहित १४ अर्ब सात करोड ५९ लाख रुपैयाँ ठेक्का सम्झौता गरिए पनि दुई वर्ष सात महिना (५६ प्रतिशत) समय सकिँदा भौतिक प्रगति भने १० प्रतिशत मात्रै भएको हो ।
परियोजना कार्यालयले सार्वजनिक गरेको असार मसान्तसम्मको विवरणमा पनि भौतिक प्रगति एकदमै न्यून भएको भन्दै १० प्रतिशत मात्रै काम भएको उल्लेख छ । ‘करिब ५५ प्रतिशत (असार मसाान्तसम्म) समय व्यतीत हुँदा पनि भौतिक प्रगति एक दमै न्यून (करिब (१० प्रतिशत मात्र) रहेको छ,’ परियोजना कार्यालयले सार्वजनिक गरेको असार मसान्तसम्मको प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार पूर्व तयारी तथा निर्माण कार्यहरू प्रारम्भ भएको छ भने कन्ट्राक्टर क्याम्प र लेबर क्याम्पको निर्माण भइसकेको छ । यसैगरी, कफर ड्यामको पहिलो चरणको निर्माण सकेर स्टिलिङ बेसिन निर्माणको काम भइरहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, विद्युत्गृह र सर्ज ट्यांक निर्माण स्थलमा खन्ने (एक्स्काभेसन) काम भइरहेको छ ।
काममा प्रगति नदेखिएपछि परियोजनाले चार महिनाअघि नै निर्माण कम्पनीलाई ‘नोटिस टु करेक्ट’ पत्र जारी गरेको थियो । त्यसको जवाफ नआएपछि ५० प्रतिशत पेस्की फिर्ता गर्न पनि पत्राचार गर्यो । पत्र प्राप्त भएको एक सातामा पेस्की फिर्ता गर्नुपर्छ । तर, त्यो नभएपछि ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ बापत ५० प्रतिशत रकम भुक्तानी गर्न जमानी बसेका बैंकहरूलाई पत्राचार गरिएको थियो । ठेकदारले मोबिलाइजेसन पेस्कीका लागि ठेक्काको १० प्रतिशत अर्थात् एक अर्ब २० करोड १४ लाख लगेको थियो । उक्त पेस्कीमा प्रभु, ग्लोबल, माछापुच्छ्रेलगायतका बैंक जमानी बसेका थिए । उनीहरूलाई पेस्कीको ५० प्रतिशत रकम दिन १२ चैत र १७ वैशाखमा पत्र काटे पनि बुझाएका छैनन् ।
यता आयोजनाको परामर्शदाताले पनि निर्माण कम्पनीले पेस्की रकम आयोजनामा प्रयोग नगरेर अन्यत्रै दुरुपयोग गरेको प्रतिवेदन दिइसकेको थियो । त्यो अवस्थामा पेस्की फिर्ता लिन सकिने व्यवस्था छ । त्यसमाथि फिल्डमा कामसमेत नभएको देखेपछि परियोजनाले सम्बन्धित बैंकहरूलाई जमानतअनुसार पेस्कीको ५० प्रतिशत रकम (६० करोड सात लाख रुपैयाँ) फिर्ता दिन आग्रह गरेको थियो । तर, त्यसमा बैंकहरूले आनाकानी गरेका छन् । त्यसमाथि निर्माण कम्पनीलाई पेस्कीबाहेक पटक–पटक गरी थप ९३ करोड रुपैयाँ भुक्तानी दिइएको छ ।
स्रोतका अनुसार अदालतले समेत मोबिलाइजेसन पेस्की गर्नुपर्ने भनेको छ । जमानत जफत गर्न लागेपछि निर्माण व्यवसायीले उच्च अदालत पाटनमा २२ चैत ०८१ मा र काठमाडौं जिल्ला अदालतमा १० वैशाख ०८२ मा मोबिलाइजेसन जमानत जफत नगराउनका लागि अन्तरिम आदेश माग गर्दै निवेदन दिएको थियो । त्यसमा उच्चले ४ वैशाख र जिल्लाले २ जेठमा अन्तरिम आदेश जारी गर्नुनपर्ने भन्दै आयोजनाको पक्षमा निर्णय दिएको थियो । तर, पेस्की रकम अझै फिर्ता भएको छैन ।
प्रतिवेदनअनुसार परियोजना कार्यालयले ठेक्का तोड्नका लागि सिँचाइ विभागमा प्रस्ताव पठाएको छ, जुन अहिले छलफलकै चरणमा छ । अहिले यो विषयमा पूर्वाधार विकास समितिले उपसमिति नै बनाएर अध्यनन गरिरहेको छ, जुन उपसमितिले साउन १४ गतेदेखि काम सुरु गरेको छ, उपसमितिलाई १४ असोजसम्मको समय दिइएको छ । यता सिँचाइ विभागले पनि विज्ञ कमिटी बनाएर अध्ययन गरिरहेको छ । सिँचाइ विभागले २० असारमा बनाएको कमिटीमा पूर्वसचिव सुरेश प्रधानसहित बलाराम पराजुली र नारायण कोइरला रहेका छन् ।
विभागका महानिर्देशक मित्र बरालले यस विषयमा अहिले छलफल भइरहेको बताए । ‘ठेक्का तोड्न परियोजना कार्यालयबाट प्रस्ताव आएपछि यस विषयमा हामीले विज्ञ कमिटी गठन गरेर छलफल गरिरहेका छौँ । साथै, यस विषयमा पूर्वाधार विकास समितिमा छलफल भइरहेको छ । योबाहेक सम्बन्धित मन्त्रालयमा पनि छलफल भइरहेको छ,’ उनले भने, ‘पूर्वाधार विकास समिति, विज्ञ समितिलगायतले दिने सुझावका आधारमा यसबारे निर्णय हुनेछ । अहिले नै निर्णयको चरणमा पुगिसकेका छैनौँ । सबैको राय–सुझाव लिएर यसमा निर्णय गर्नेछौँ ।’
यस्ता छन् ठेक्का तोडिने आधारहरू
ठेक्काको अवधि अझै दुई वर्ष बाँकी नै छ । यद्यपि, निर्माण व्यवसायीले बितेको समयमा राम्रो काम गरेको छैन । राम्रो काम नगरेको अवस्थामा ठेक्का अवधि कायमै रहे पनि ठेक्का तोड्न सकिने व्यवस्था सम्झौतापत्रमा रहेको छ ।
ठेकदारले सम्झौताबमोजिम काम सुरु नगरेमा, काम सुरु गरी बिचैमा छाडेमा वा सम्झौताबमोजिम कामको प्रगति नदेखिएमा जुनसुकै ठेक्का तोड्न सकिने अवस्था छ । ‘हाल आयोजनास्थलमा निर्माण व्यवसायीले काम गरेजस्तो मात्र गरेको छ । तर, प्रगति अत्यन्त न्यून छ । यही गतिमा काम गरेमा अबको २५ वर्षमा पनि सकिने समभावना छैन । तसर्थ, ठेक्का तोड्नुको विकल्प नै देखिँदैन,’ एक कर्मचारीले बताए ।
निर्माण व्यवसायीले पेस्कीको दुरुपयोग गरेमा पनि खरिद सम्झौता अन्त्य गर्न सक्ने व्यवस्था छ । योअनुसार ठेक्का तोड्ने आधार देखिन्छ ।
अध्ययन भएपछि कामको नाटक गर्दै ठेकेदार
ठेक्का तोड्ने गरी अध्ययन प्रक्रिया अघि बढेपछि निर्माण कम्पनीले आंशिक रूपमा काम सुरु गरेजस्तो गरेको छ । ‘निर्माण कम्पनीले निर्माणतालिका रिभाइज गरेर पठाएको छ । अहिले कामको गति बढाएको छ । तर, त्यो पर्याप्त छैन,’ विभागका एक अधिकारीले भने, ‘हामी परियोजना समयमा बन्नुपर्छ भन्नमा छौँ । तर, त्यसको आधार देखेका छैनौँ ।’
कम्पनीले हालसम्म पेस्कीबाहेक ९३ करोड भुक्तानी लगेको छ । एड्भान्सपछि कम्पनीले रनिङ बिल पेस गर्दै भुक्तानीले लिएको हो । तर, काम भने भएको छैन । ‘सम्झौता रकमको कम्तीमा १ प्रतिशत रकमबराबरको भएपश्चात् मात्र भुक्तानी पाउने व्यवस्था रहेको छ । तर, निर्माण व्यवसायीले सोबराबरको काम नगर्दै पटक–पटक भुक्तानीका लागि दबाब दिने गर्यो । काम नगर्ने कम्पनीलाई भुक्तानीका लागि माथिबाट पनि दबाब आयो,’ स्रोतले भन्यो ।
राष्ट्रिय गौरवको यो आयोजनाबाट तराईका एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ । साथै, ३१.०७ मेगावाट विद्युत्समेत उत्पादन गर्नेछ । सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीको पानीलाई सुरुङमार्फत सिन्धुली जिल्लाको मरिन नदीमा खसालिनेछ । त्यसलाई हालको बागमती सिँचाइ आयोजनाका संरचनाहरूमार्फत मध्यतराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याइनेछ, जहाँ अहिले सिँचाइ सुविधाको अभाव हुँदा उत्पादन प्रभावित भइरहेको छ । यो आयोजना बनेपछि उक्त क्षेत्रमा १२ महिना नै सिँचाइ सुविधा हुनेछ । सिँचाइ दिने क्षेत्रमा तीन गुणा उत्पादन बढाउन सक्नेछ । कृषिबाट वार्षिक २६ अर्ब रुपैयाँ आम्दानी हुने आयोजनाको आकलन छ ।
साथै, पानी डाइभर्सन गर्ने क्रममै यसै आयोजनामा भित्र ३१.०७ मेगावाट क्षमताको जलविद्युत् आयोजना पनि बन्नेछ । बिजुली उत्पादनबाट मात्रै वार्षिक एक अर्ब ५५ करोड आम्दानी हुनेछ । यति महत्वपूर्ण आयोजनाको निर्माणमा ठेकदार कम्पनीले काम नगर्दा सरकारले नै बचाउ गर्न खोजेको छ ।
काम नगर्ने कम्पनीले माग्यो ७०१ दिन थप म्याद
निर्माणकार्य अलपत्र पारेको रमण पटेल जेभीले दुई वर्ष समय बाँकी रहँदै थप सात सय एक दिन म्याद दिन प्रस्ताव गरेको छ । ५६ प्रतिशत समय व्यतीत गरेको कम्पनीले हालसम्म १० प्रतिशत मात्रै काम गरेको छ । अब दुई वर्ष समय बाँकी छ । त्यसमा थप सात सय एक दिन (करिब दुई वर्ष) म्याद थप गर्न आग्रह गरेको छ । साथै, कम्पनीले कार्यतालिका पनि पेस गरेको छ । कम्पनीले हालसम्म १५ प्रतिशत काम गरेको दाबी गरे पनि विभागले त्यो स्वीकार गरेको छैन ।