मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025
जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले मंगलबार आगजनी गरेका नक्सालस्थित हिल्टन होटेल, लैनचौरस्थित एनसेल मुख्यालय, भाटभटेनी सुपरमार्केट र सिम्रिक एयर ।
२o८२ भदौ २५ बुधबार o८:oo:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजी व्यवसायमाथि पनि आक्रमण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २५ बुधबार o८:oo:oo
  • होटेल, मोबाइल सेवाप्रदायक, बैंक, एयरलाइन्स, सुपरमार्केट, केबलकार, सोरुमलगायत उद्यम–व्यवसायमा तोडफोड, आगजनी र लुटपाट, अर्बौँको क्षति 

जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले मंगलबार निजी व्यवसायमाथि पनि आक्रमण गरेका छन् । आक्रोशित समूहले निजी लगानीका मोबाइल सेवाप्रदायक, होटेल, सुपरमार्केट, सोरुम, गोदाम, हार्डवेयर, केबलकारलगायत उद्योग–व्यवसायमा तोडफोड एवं आगजनी गरेका हुन् । यसबाट अर्बौँको क्षति पुगेको अनुमान गरिएको छ ।

आक्रोशित भिडले हिल्टन होटेल, एनसेल, भाटभटेनी सुपरमार्केट, बिगमार्ट, राजेश हार्डवेयर, सिजी, चन्द्रागिरि केबलकार, सवारीसाधनका सोरुमलगायत निजी लगानीका उद्योग–व्यवसायमा तोडफोड, आगजनी एवं लुटपाट गरेका हुन् । आक्रमणबाट अर्बौँको क्षति भएको व्यवसायीले बताएका छन् । तर, सुरक्षाको कारण देखाएर कसैले पनि औपचारिक रूपमा बोल्न चाहेका छैनन् ।

नक्सालस्थित पाँचतारे होटेल ‘हिल्टन’मा आगो लगाइएको छ । तोडफोड एवं आगोबाट होटेलमा ठुलो क्षति पुगेको छ । व्यापारिक घरना शंकर ग्रुपको लगानी रहेको होटेल हिल्टन गत वर्षदेखि सञ्चालनमा आएको थियो । साढे आठ अर्ब रुपैयाँबराबरको लगानी रहेको भनिएको यस होटेलका अधिकांश भागमा क्षति पुगेको छ । होटेलमा रहेका पर्यटकलाई अन्यत्र सारिएको थियो । 

त्यस्तै भाटभटेनीमा समेत आक्रमण गरेका छन् । भाटभटेनीको कोटेश्वर, नक्साल, चितवन, हेटौँडा, इटहरीलगायत शाखामा समेत तोडफोड, आगजनी एवं लुटपाट भएका छन् । भाटभटेनीको प्रमुखमध्येका स्टोरहरूमा भएको आगलागीबाट ठुलो क्षति भएको अनुमान गरिएको छ । यद्यपि, क्षतिको विवरण आइसकेको छैन । प्रदर्शनकारीले लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा समेत आगजनी गरिदिएका छन् । दूरसञ्चारजस्तो अत्यावश्यक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति भएमा

समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्तालाई मर्का पर्ने सुनिश्चित भएको एनसेलले जनाएको छ । ‘यस्ता अत्यावश्यक सेवा तथा सम्पत्तिमाथि कुनै पनि क्षति नपुर्‍याइदिन हुन र अविच्छिन्न सञ्चार सेवा प्रदान गर्न सहयोग गर्नुहुन हामी सम्पूर्णमा अनुरोध गर्दछौँ,’ एनसेलले भनेको छ । प्रदर्शनकारीले थापथलीस्थित सवारीसाधनका सोरुमहरूमा समेत तोडफोड एवं आगजनी गरे । थुप्रै ब्रान्डका सवारीसाधनको सोरुम र त्यहाँ राखिएका सवारीसाधनमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण भने आइसकेको छैन । 

आन्दोलनका क्रममा जेन–जी समूहले काठमाडौंको चन्द्रागिरिस्थित केबलकारको तल्लो स्टेसनमा पनि तोडफोड तथा आगजनी गरेको छ । आगजनीबाट तल्लो स्टेसनमा ठुलो क्षति पुगेको छ । आन्दोलनको समूहले स्टेसनमा तोडफोड गरेर आगजनी गरेका हुन् ।

आन्दोलनका क्रममा काठमाडौंको सतुंगलस्थित सिजीको कारखानामा तोडफोड तथा आगजानी भएको छ । तोडफोडपछि गरिएको आगजानीका कारण त्यहाँ भएका गाडीलगायतका भौतिक सम्पत्तिमा क्षति पुगेको छ । प्रदर्शनकारीले त्यहाँ तोडफोड गरी आगजानी गर्दा ठुलो क्षति भएको छ । त्यहाँ सिजीका टिभी, फ्रिज, वासिङ मेसिनलगायतका सामग्रीको तोडफोड भएको छ । यस्तै, सिजी मोर्टसको सोरुममा पनि तोडफोड तथा आगजनी भएको छ । 

यसैगरी आन्दोलनकारीले राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखा तोडफोड गरेका छन् । त्यो शाखामा सोमबार पनि आक्रमण भएको थियो । मंगलबार पनि साँझ उक्त शाखा कार्यालयमा तोडफोड भएको छ । 

यसैगरी सिम्रिक एयरको बानेश्वरस्थित कार्यालय र एक हेलिकोप्टरमा पनि तोडफोड तथा आगाजनी भएको छ । यस्तै, व्यवसायीद्वय विनोद चौधरी तथा शेखर गोल्छाको घरमा पनि तोडफोड तथा आगजनी भएको छ । चौधरीको रवि भवन र गोल्छाको सीतापाइलास्थित निवासमा आन्दोलनकारीले आक्रमण गरेका हुन् । त्यसमा लुटपाटसमेत भएको छ ।