मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २५ बुधबार o७:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नक्खु, कास्की, महोत्तरी, कैलाली र  कञ्चनपुर कारागारबाट निस्किए कैदीबन्दी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २५ बुधबार o७:४५:oo

आन्दोलनकारीले ललितपुरको नक्खु, कास्की, महोत्तरी, दाङको तुलसीपुर, कैलाली र कञ्चनपुर कारागारबाट कैदीबन्दीलाई जेलबाट निकालेका छन् । ठुलो संख्यामा कारागार पुगेका प्रदर्शनकारीले जेलमा तोडफोड र आगजनीसमेत गरेका छन् ।

नक्खु कारागारमा आगजनी भएपछि कैदी भागे पनि संख्या यकीन भएको छैन । जनकपुर बम काण्डमा दोषी ठहर भएर सजाय काटिरहेका पूर्वराज्यमन्त्री सञ्जय टक्ला पनि नक्खु कारागारबाट भागेका हुन् । 

जेन–जी आन्दोलनकर्मी कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत गरेपछि कास्कीमा सात सय ७३ कैदीबन्दी भागेका छन् । 

महोत्तरीको जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार भएका छन् । महोत्तरी कारागारमा ५७५ कैदीबन्दी थिए । मंगलबार साँझ ७ बजे आएका प्रदर्शनकारी र भित्रका कैदीले एकैसाथ पर्खाल भत्काएपछि स्थिति नियन्त्रणबाहिर गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए । 

दाङको तुलसीपुर कारागारका एक सय २४ कैदीबन्दी भागेका छन् । त्यस्तै, कैलालीमा ६ सय ६२ जना कैदीबन्दी भागेका छन् । कारागारमा अहिले पाँचजना कैदबन्दी मात्र बाँकी रहेका कैलाली कारागारका नासु ज्ञानेन्द्र ओझाले बताए । सयौँको संख्यामा रहेका प्रदर्शनकारी गेट तोडेर भित्र पसेको र कैदीबन्दीलाई निकालेको ओझाले बताए । 

जेन–जी युवा कञ्चनपुर कारागार पसेपछि साढे चार सयभन्दा कैदीबन्दी भागेका छन् । कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले कैदीबन्दी बाहिर आउने क्रममा प्रहरीले भित्रै बस्न आह्वान गरेपछि केही भित्रै केही बाहिर निस्किएको बताए ।  त्यस्तै, जाजरकोट जिल्ला कारागारमा रहेका कैदीबन्दीले पनि आन्दोलन चर्काएका छन् । अन्य जिल्ला कारागारका कैदीबन्दी भागे पछि आफूहरूलाई पनि छाड्न माग गर्दै उनीहरूले मंगलबार राति अबेरसम्म नाराबाजी गरेका थिए ।