
सोमबार बानेश्वरमा गोली हानेर सरकारले आन्दोलनमा उत्रिएका विद्यार्थी मारेपछि उत्तेजित भएका आन्दोलनकारीहरूले आन्दोलनलाई थप आक्रामक बनाउँदै लगे । मंगलबार उनीहरूले सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका छन् ।
आन्दोलनकारीहरूले मंगलवार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र आगजनी गरे । हजारौंको भिडले सबै सुरक्षा तह पार गर्दै शितल निवास छिरेर आगजनी र तोडफोड गरेको थियो । सोमबार नै ठूलो प्रयत्न गरेका आन्दोलनकारी मंगलवार बानेश्वरको संसद् भवनमा छिरेर आगजनी गर्न सफल भए । आगजनीपछि संसद् भवन ध्वस्त बनेको छ ।
आन्दोलनकारीहरूले सिंहदरवारमा पनि ठूलो क्षति गराएका छन् । सिंहदरवारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनी गरेका छन् । साथै, सिंहदरवारभित्र रहेका अधिकांश मन्त्रालयमा पूर्ण र आंशिक तोडफोड तथा आगजनीबाट क्षति भएको छ । सिंहदरवारभित्र २२ वटा मन्त्रालय छन् । आन्दोलनकारीहरूले गृह, परराष्ट्र, भौतिक पूर्वाधार, खानेपानी, कृषि मन्त्रालय लगायतमा ठूलो क्षति पुर्याएका छन् । यस्तै, नेपाल टेलिभिजनमा पनि आगजनी र तोडफोड गरेका छन् । सिंहदरवारबाहिरको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि आगजनी भएको छ । मन्त्रालयहरूका दर्जनौं गाडी जलेर नष्ट भएका छन् ।
आन्दोलनकारीहरूले सर्वोच्च अदालतको भवनमा पनि आगो लगाइदिएका छन् । काठमाडौं जिल्ला अदालत र विशेष अदालत पनि तोडफोड र आगजनीबाट अछुतो रहेन । अदालतमा आगजनी र तोडफोड गर्दा हजारौं मुद्दा र त्यससम्बन्धी कागजातहरू जलेका छन् । सर्वोच्चसँगै जोडिएको महान्यायाधिवक्ता कार्यालयमा पनि आगजनी भएको छ ।
यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा पनि आगजनी भएको छ । आयोगको अघिल्लो भागमा आगजनी भएको छ । काठमाडौं जिल्ला प्रशासनलाई त लक्षित नै गरेर खरानी नै बनाइदिएका छन् । बबरमहलमा सडक विभागको नयाँ भवन र महालेखा परीक्षक कार्यालयका भवन पनि आगजनीमा परेका छन् । सानो गौचरनमा रहेका विद्युत विकास विभाग र विद्युत नियमन आयोगको भवनमा पनि आगजनीसहित तोडफोड भएको छ । विभाग र आयोगमा रहेका कागजात आन्दोलनकारीहरूले सडकमा च्यातचुत पारेर छर्ने र आगो लगाइदिएका छन् ।
मुख्यमन्त्री तथा प्रदेश प्रमुखनिवासमा आगजनी
भ्रष्टाचारको छानबिन र सामाजिक सञ्जाल बन्दविरुद्ध सोमबारदेखि आन्दोलित बनेका जेन–जीले मंगलबार बिहान करिब ९ बजे सुनाकोठीस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निजी निवासमा आगजनी गरेका थिए । त्यहाँ आगजनी हुनेबित्तिकै ललितपुरको भैँसेपाटीस्थित मन्त्री क्वार्टर तथा सातवटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवासमा पनि जेन–जीले आगजनी गर्ने हल्ला साढे १० बजेतिर भँैसैपाटी क्षेत्रमा फैलिसकेको थियो ।
सातदोबाटोमा आगजनी गरिरहेको समूहले मन्त्री क्वार्टरमा आगजनी गर्न आउने संकेत पाएलगत्तै क्वार्टरभित्र रहेका मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न सेनाको हेलिकोप्टर परिचालन गरिएको थियो । करिब १२ बजे तीनवटा हेलिकोप्टर एकैपटक भैँसैपाटी क्षेत्र अवतरण गरेको थियो ।
सुरुमा मन्त्री क्वार्टरको उत्तरपट्टि रहेकोे खेलमैदानमा हेलिकोप्टर पालैपालो अवतरण गरेर मन्त्रीहरूलाई ओसारिएको थियो । खेलमैदानको चारैतिर सेनाले बन्दुक ताकेर बस्ने र मन्त्रीहरूलाई अरू सैनिक अधिकारीले सुरक्षा घेरामा हेलिकोप्टरसम्म लगिएको थियो ।
पहिलो चरणमा मन्त्री ओसारेपछि आन्दोलित समूहबिच ‘मन्त्रीहरू देश छाडेर भाग्न लागेको’ सन्देश फैलियो । त्यसपछि आक्रोशित युवाहरूको ठुलो समूहले भैँसेपाटीस्थित मन्त्री निवास घेराउ गरेको थियो । त्यस क्रममा सरकारविरुद्ध चर्को नाराबाजीसमेत भयो ।
सेनाको सीमित हेलिकोप्टरले मन्त्री ओसार्दा समय लाग्ने देखेपछि निजी हेलिकोप्टरसमेत परिचालन भएको थियो । भिडले क्वार्टरबाहिरको खेलमैदानबाट मन्त्री ओसार्न अवरोध गरेपछि क्वार्टरभित्रकै साँघुरो ठाउँमा हेलिकोप्टरलाई जोखिमपूर्ण रूपले अवतरण गरेर मन्त्रीहरू ओसारिएको थियो । दिउँसो करिब साढे १२ बजेसम्ममा सबै मन्त्रीलाई क्वार्टरबाट सारिएको थियो भने कर्मचारीलाई पनि बाहिर निकालिएको थियो ।
सेनाको प्रत्यक्ष सुरक्षामा मन्त्रीहरूलाई हेलिकोप्टरसम्म लैजाने व्यवस्था गरिएकाले युवाहरूले खासै प्रतिवाद गर्न सकेनन् । अर्कातिर, तुलनात्मक रूपमा युवाहरूको संख्या पनि कम थियो, तर क्वार्टर खाली हुनासाथ युवाहरूको संख्या पनि बढ्यो । ठुलो समूह मन्त्री क्वार्टर हुँदै भैँसेपाटी आवास क्षेत्रमा भरिभराउ भयो ।
मन्त्री निकालेर कर्मचारीसमेत बिदा गरेकाले सुरक्षा निकायले पनि आन्दोलित समूहलाई आगजनी गर्नबाट रोक्न खासै बल प्रयोग गरेन । त्यसैले आन्दोलित समूह सुरुमा मन्त्री क्वार्टरको होर्डिङ बोर्ड भत्काउँदै भित्र प्रवेश गरेको थियो ।
आन्दोलनकारीले मन्त्री क्वार्टरको गेटबाट प्रवेश गर्नासाथ ‘वाटर फल’ क्षणभरमै ध्वस्त बनाए । त्यसपछि सबै भवनमा आगजनी सुरु गरे । अधिकांश युवाले पहिलो तलामा गएर आगजनी गरेका थिए । त्यहाँ आगजनी गर्नासाथ भान्सामा रहेको ग्यास सिलिन्डर पड्केर आगलागीले ठुलो रूप लिएको थियो ।
आन्दोलनमा सहभागी अर्को समूह मन्त्री क्वार्टरकै सम्मुखमा रहेको प्र्रदेश प्रमुख तथा मुख्यमन्त्रीनिवासको गेटमा रहेको होर्डिङ बोर्ड भत्काउँदै भित्र प्रवेश गरेको थियो । उनीहरूले पनि सबै भवनमा आगजनी गरे । दुवैतर्फका भवनमा आगजनी सुरु भएपछि भान्सामा रहेका ग्यासका सिलिन्डर धमाधम पड्केर आगलागीले झन् ठुलो स्वरूप लियो भने भैँसेपाटी आवास क्षेत्रमा निरन्तर पड्केको सिलिन्डरको ठुलो आवाजले त्रास पैदा गरेको थियो ।
एक चरण आगजनी सकेपछि केही युवाहरूले मन्त्री क्वार्टरको दक्षिणपट्टि रहेको गणेश मन्दिरआसपास जम्मा भएका स्थानीयलाई आन्दोलनमा साथ दिन आग्रह गरेका थिए । स्कुटरमा आएका उनीहरूले ‘मान्छे मार्ने संविधान चाहिँदैन’ भन्दै स्थानीयको समर्थन जुटाए । ‘हामी अन्यत्र पनि जानु छ, यहाँ मात्रै बसेर आन्दोलन सफल हुँदैन,’ स्कुटरमा आएका युवाले भने, ‘अब यहाँको आन्दोलनको जिम्मा तपाईंहरू (स्थानीय)ले लिनुपर्छ ।’ उनले यसो भन्नासाथ करिब दुई सयको संख्यामा उपस्थित स्थानीयले पनि ताली बजाएर साथ दिएका थिए ।
केही स्थानीय युवा आगजनीका लागि मन्त्री क्वार्टरतिर लागेका थिए । साढे २ बजेतिर मन्त्री क्वार्टर र प्रदेश प्रमुख तथा मुख्यमन्त्रीनिवासका भवनहरू दनदनी आगो लागेको थियो । केही युवाले मन्त्री क्वार्टरको धुरीमा चढेर राष्ट्रिय झन्डासमेत फहराएका थिए ।
आन्दोलित युवाहरूले मन्त्री क्वार्टरभित्रको एउटा गाडीलाई पूर्ण रूपले जलाएर नष्ट गरेका छन् । त्यस्तै, सबै भवनको अधिकांश भाग जलेर नष्ट भएको छ । करिब २ बजेतिर सेनाको एउटा टुकडी जलिरहेको मन्त्री क्वार्टरभित्र पसेको थियो । तर, उनीहरू आन्दोलित समूहको अगाडि निरीह देखिन्थे ।
यत्रतत्र आन्दोलित युवाहरूले नारा–जुलुस गर्ने, निवासको झ्यालको सिसा फुटाउनेलगायत कार्य गर्दा पनि हस्तक्षेप नगरी सैनिकहरू एउटा कुनामा जम्मा भएर बसेका थिए ।
सञ्चारमाध्यमका कार्यालयमा आगजनी
जेन–जी प्रदर्शनकारीले कान्तिपुर मिडिया ग्रुपअन्तर्गतका सञ्चारमाध्यमदेखि न्युज २४, अन्नपूर्ण पोस्टलगायतको कार्यालयमा आगजनी गरेका छन् । नेपाल पत्रकार महासंघका अनुसार प्रदर्शनकारीले कान्तिपुर मिडिया ग्रुपअन्तर्गत तीनकुनेमा रहेको कान्तिपुर टेलिभिजनको कार्यालय, थापाथलीस्थित कान्तिपुर दैनिक, इकान्तिपुरडटकम र द काठमाण्डु पोस्टको कार्यालयमा समेत आगजनी गरेका छन् ।
आगजनीपछि इकान्तिपुरको प्रसारण रोकिएको छ । त्यस्तै, टेलिभिजन र पत्रिकाको प्रसारण तथा प्रकाशन पनि प्रभावित बनेको छ । यस्तै, उनीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा पनि आगजनी गरेका छन् । प्रदर्शनकारीले महाराजगन्जस्थित न्युज–२४ को गाडीमा आगजनी गरेका छन् । कार्यालयमा प्रवेश गरी लाइभ डिभाइस र क्यामेरा खोसेर नष्ट गरेका छन् । उनीहरूले नेपाल पत्रकार महासंघअन्तर्गतका शाखा कार्यालयमा पनि आगजनी तथा तोडफोड गरेका छन् ।
महासंघका अनुसार महासंघको सप्तरीस्थित शाखा कार्यालयमा आगजनी गरेका हुन् । त्यसबाहेक बबरमहलस्थित प्रेस सेन्टरको कार्यालय भवनमा आगजनी गरेका छन् । बुटवलस्थित रेडियो जागरणको भवनमा पनि तोडफोड गरेका छन् । आन्दोलनकारीले सिंहदरबारस्थित सार्वजनिक प्रसारण सेवाको कार्यालय तोडफोड र आगजनी गरेका छन् । महासंघले सञ्चारगृहमा भएका आगजनी र तोडफोडको निन्दा गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारगृह, पत्रकार महासंघका शाखा, सञ्चारसम्बद्ध संगठनको भवनमा तोडफोड, आगजनी र सञ्चारमाध्यमको सवारीसाधन तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार महासंघ घोर निन्दा र भत्र्सना गर्दछ । महासंघ शान्तिपूर्ण विरोधमार्फत आफ्ना माग राख्न पाउने अधिकारको सम्मान गर्दै जेन–जीसमक्ष पत्रकारिता क्षेत्रमा आक्रमण नगर्न पुन: आग्रह गर्दछ ।’