Skip This
सामाजिक सञ्जाल चलाउन भिपिएनको प्रयोग : प्ले स्टोरमा डाउनलोड गरिएका टप ५० एप्समा १९ वटा भिपिएन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
२o८२ भदौ २४ मंगलबार o८:o५:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामाजिक सञ्जाल चलाउन भिपिएनको प्रयोग : प्ले स्टोरमा डाउनलोड गरिएका टप ५० एप्समा १९ वटा भिपिएन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार o८:o५:oo

सरकारले निष्क्रिय गरिदिएको फेसबुक, युट्युब, ह्वाट्सएप्सजस्ता सामाजिक सञ्जाल चलाउन प्रयोगकर्ताले ‘भर्चुअल प्राइभेट नेटवर्क’ अर्थात् भिपिएन एप्सको सहारा लिएको देखिएको छ । नेपालमा सूचीकरण हुन नआएको भन्दै सरकारले गत बिहीबारदेखि विभिन्न २६ सामाजिक सञ्जाललाई निष्क्रिय गराएको छ । तर, ती सामाजिक सञ्जाल प्रयोग गर्न आमप्रयोगकर्ताले भिपिएन एप्स प्रयोग गर्न सुरु गरेका छन् । अहिले गुगल प्ले स्टोरको नेपाल रेन्जको टप चार्टमा धेरै डाउनलोड गरिने सय एप्सभित्र २९ वटा भिपिएनसम्बन्धी एप्स देखिएका छन् । टप ५० भित्र मात्रै १९ वटा भिपिएन एप्स छन् । सोमबार राति ९:२० बजेसम्मको तथ्यांकका आधारमा यस्तो देखिएको हो ।

पछिल्लो समय फेसबुक, युट्युब, ह्वाट्सएप्सजस्ता सामाजिक सञ्जाल आममानिसको जीवनमा अपरिहार्य बनेको थियो । देश–विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न, व्यावसायिक सम्पर्क बढाउन, सूचना तथा समाचारबारे जानकारी लिन लगायत प्रयोजनका लागि सामाजिक सञ्जालको प्रयोग तथा अपरिहार्यता बढ्दै गएको थियो । त्यस अवस्थामा सरकारले सामाजिक सञ्जाल निष्क्रिय पारेपछि प्रयोगकर्ताको दैनिक जीवनयापन नै प्रभावित भएको छ । त्यसपछि उनीहरूले विकल्पका रूपमा भिपिएन प्रयोग गरेको गुगल प्ले स्टोरले देखाएको छ । 

सरकारको निर्देशनका आधारमा इन्टरनेट सेवाप्रदायकले भौगोलिक रूपमा अर्थात् नेपालभित्र तोकिएका सामाजिक सञ्जाललाई निष्क्रिय पारिदिएका छन् । त्यसअनुसार नेपालभित्र त्यस्ता सामाजिक सञ्जाल खुल्दैनन् । जुन कम्प्युटर, मोबाइलजस्ता डिभाइसको इन्टरनेटसँग जोडिएको ‘इन्टरनेट प्रोटोकल एड्रेस’ अर्थात् आइपी एड्रेसका आधारमा कन्ट्रोल हुन्छ । आइपी एड्रेस भनेको इन्टरनेटमा भएको डिभाइसको ठेगाना हो, जसले डिभाइस कुन देशको कुन ठाउँमा छ भनेर देखाउँछ ।

त्यसमा डिभाइसमा छुट्टै भिडिएन एप्स डाउनलोड गरेर एक्टिभ गरेपछि त्यसले डिभाइसको वास्तविक आइपी एड्रेस लुकाएर अर्काे कुनै देशको आइपी एड्रेस देखाउँछ । प्रयोगकर्ता आफैँले पनि कुन देशको आइपी एड्रेस राख्ने भनेर छनोट गर्न सक्नेछन् । त्यो एक्टिभ भएपछि वास्तविक ठाउँमा प्रतिबन्धित वेबसाइट तथा एप्सहरू सञ्चालन गर्न सकिन्छ । यद्यपि, कतिपय अवस्थामा यो जोखिमपूर्ण पनि हुन्छ । अहिले प्रयोगकर्ताले भिपिएन प्रयोग गरेर सामाजिक सञ्जाल चलाइरहेका छन् ।

गुगल प्ले स्टोरले पनि नेपालमा भिपिएनसम्बन्धी एप्सहरूको डाउनलोड बढेको देखाउँछ । गुगल प्ले स्टोर विभिन्न एप्सहरू उपलब्ध हुने एक मात्रै प्लाटफर्म हो, त्यहाँ उपलब्ध एप्सहरू डाउनलोड गरेर मोबाइल तथा कम्प्युटरमा सञ्चालन गर्न सकिन्छ । त्यहाँ डाउनलोडका आधारमा एप्सहरूको ‘टप चार्ट’ अर्थात् ट्रेडिङ पनि देखिन्छ । अहिले प्ले स्टोरमा नेपाल क्षेत्रमा ‘टप चार्ट’मा पहिलो नम्बरमा भाइबर छ । यसअघि यो ८४ नम्बरमा थियो । भाइबर यसअघि नै नेपालमा सूचीकृत थियो । त्यसकारण सरकारले भाइबरलाई प्रतिबन्ध गर्न सकेन । त्यसपछि प्रयोगकर्ताले भाइबर प्रयोग गर्न थालेका छन् । यसको डाउनलोड बढेपछि यो पहिलो नम्बरमा आएको छ । 

त्यसपछि लगतार दोस्रो र तेस्रो नम्बरमा भिभिएन छ । दोस्रो नम्बरमा १.११.१ + वार्प (डब्लुएआरपी) र तेस्रो नम्बरमा टुर्बाे भिपिएननामक भिपिएन छ । 

यसैगरी ६ नम्बरमा सुपर भिपिएन फास्ट भिपिएन क्लाइन्ट, ७ नम्बरमा भिपिएन सुपर अनलिमिटेड प्रोक्सी, ८ नम्बरमा भेन्चर भिपिएन, ९ नम्बरमा भिपिएन प्रोटोन, ११ नम्बरमा भिपिएन: फास्ट, सेफ भिपिएन प्रोक्सी, १२ नम्बरमा टोमभिपिएन, १३ नम्बरमा सेक्युर भिपिएन– सेफ इन्टरनेट, १६ नम्बरमा बोल्ट भिपिएन सुपर भिपिएन प्रोक्सी, १७ नम्बरमा एड्ज भिपिएन सिम्पल एन्ड फास्ट र १९ नम्बरमा भिपिएन एप सेक्युर भिपिए प्रोक्सी रहेका छन् । 

यस्तै, २१ नम्बरमा स्पिडी क्वार्क भिपिएन, २६ नम्बरमा भिपिएन फास्ट प्राइभेट स्पिडी सेक्युर, २७ नम्बरमा डिएनएस चेन्जर, ३६ नम्बरमा नोरर्ड भिपिएन, ३७ नम्बरमा थन्डर भिपिएन, ३९ नम्बरमा र्‍यापिड भिपिएन, ४० नम्बरमा सुपर भिपिएन प्रो, ४१ नम्बरमा टुर्बाे भिपिएन लाइट, ४७ नम्बरमा फ्री भिपिएन सुपरफास्ट एन्ड सेक्युर र ४९ मा भिपिएन प्रोक्सी मास्टर रहेका छन् । मुख्यत: डाउनलोडका आधारमा गुगल प्ले स्टोरको टप चार्टमा यस्ता भिपिएन देखिएका हुन् । 

इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)का प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले पनि नेपालमा भिपिएनको प्रयोग बढेको हुन सक्ने बताए । ‘अहिले प्रणालीमा ट्राफिक बढ्न थालेको छ । वान्डविथ खपत पनि बढ्न थालेको छ,’ उनले भने, ‘त्यस अवस्थामा प्रयोगकर्ताले भिपिएन एप्सहरू प्रयोग गर्न सुरु गरेको देखिन्छ ।’
सामाजिक सञ्जाल निष्क्रिय भए पनि वान्डविथ खपत घट्न थालेको थियो, जुन अहिले बढ्न थालेको हो । नेपालमा सामाजिक सञ्जालबाट पनि उच्च मात्रामा इन्टरनेट सेवा खपत हुने गर्छ । सोमबार जेन–जीहरूको आन्दोलनपछि अहिले कतिपय इन्टरनेट सेवाप्रदायकले स्वतस्फूर्त रूपमा सामाजिक सञ्जाल खुला गर्न थालेका छन् ।

चौतर्फी विरोधपछि पनि सरकारले खुलाएन सामाजिक सञ्जाल 
सोमबार इन्टरनेट सेवाप्रदायक संस्थाहरूले अघोषित रूपमा सामाजिक सञ्जाललाई सक्रिय बनाएका छन् । एक इन्टरनेट सेवाप्रदायक संस्थाका प्रतिनिधिले भने, ‘आफ्नै हिसाबले सामाजिक सञ्जाललाई सक्रिय बनायौँ । केही कुरा जनता भएर पनि सोच्नुपर्ने अवस्था आयो । सर्वप्रथम हामी नेपाली हौँ ।’

यसैबिच सोमबारको मन्त्रिपरिषद्ले सामाजिक सञ्जाललाई सक्रिय बनाउने निर्णय गर्ने अपेक्षा गरिएको थियो । यद्यपि, यस्तो निर्णय भने आएन । गत साता बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरणमा नआएका सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णय लिएको थियो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सामाजिक सञ्जाललाई सक्रिय बनाउने विषयमा आधिकारिक निर्णय नआएको उल्लेख गरे ।

सञ्चार मन्त्रालयले भन्यो– भिपिएन प्रयोग नगर्नू
नेपालमा सामाजिक सञ्जाल बन्द गरेको सरकारले त्यस्ता सामाजिक सञ्जाल चलाउने भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)को प्रयोग नगर्न भनेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असुरक्षित, अनधिकृत र जोखिमयुक्त हुने भन्दै भिपिएन प्रयोग नगर्न आग्रह गरेको हो । ‘नेपाल सरकारको निर्णयबमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लाटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवाप्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनधिकृत, जोखिमयुक्त भिपिएन प्रयोग नगर्न–नगराउनसमेत अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।