
जेनजीको आन्दोलन जारी रहेपछि झापाको बिर्तामोड क्षेत्रमा कर्फ्यु लगाइएको छ । साँझसम्म आन्दोलन मन्थर नभएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको हो ।
सरकारविरुद्ध उत्रिएका प्रदर्शनकारीले साँझ भएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड क्षेत्रमा केही मोटरसाइकलमा आगजनी गरेका छन् । यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पुरानो भवन परिषरमासमेत आगजनी गरेका छन् ।
त्यसपछि बिर्तामोड क्षेत्रमा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कर्फ्यु लगाइएका हुन् । राति ८ः३० बजेदेखि बिहान ५ बजेसम्म बिर्तामोडको पूर्वमा बस पार्क छिर्ने मोडसम्म, पश्चिममा रामचोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिकमोडसम्म कर्फ्यु आदेशल जारी गरेका छन् । यस क्षेत्रमा हिँडडुल गर्न, मानिस भेला हुन तथा बैठक, सभा, जुलुस र प्रदर्शन गर्न रोक लगाइएको छ ।
यसअघि बिर्तामोड नगरपालिकामा पनि प्रदर्शनकारीले नगरपालिकाको गेटमा आगो बालेर प्रदर्शन गरेका थिए । उनीहरुले नगरपालिकामा समेत ढुंगा प्रहार गरेका थिए । उनीहरुले नगरपालिका परिषरमा राखेका सवारीसाधनमा समेत तोडफोड गरेका हुन् ।