
सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सोमबार हेटौँडामा पनि सशक्त प्रदर्शन गरेका छन् । देशव्यापी आन्दोलनको क्रममा हेटौँडाका जेनजी पुस्ता सडकमा उत्रिँदा हेटौाँडको मुख्य चोक नाराबाजीले गुञ्जिएको थियो ।
हेटौँडा उपमहानगरपालिकाको कार्यालय अगाडि भेला भएर निस्किएका युवाहरू हुप्रचौर, बुद्धचोक, सिमाचोकहुँदै बागमती प्रदेशसभा भवन अगाडिसम्म पुगेका थिए । करिब दुई घण्टासम्म बुद्धचोक क्षेत्रमा सडक अवरुद्ध पार्दै विद्यार्थीहरूले ‘भ्रष्टाचार बन्द गर’, ‘सामाजिक सञ्जाल खोल’, ‘युवाले चाहेको परिवर्तन दे’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
प्रदेश सभा भवन अगाडि पुगेपछि उनीहरूले कर प्रणालीको दुरुपयोग, सरकारी अकर्मण्यता र सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई लोकतान्त्रिक मूल्यविपरीत भन्दै चार्को नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागी जेनजीका एक युवाले आफुहरूले तिरेको करको सदुपयोग हुनुपर्नेमा सरकारले दुरुपयोग गरिरहेको आरोप लगाए । भ्रष्टाचार रोक्ने, आवाज उठाउने माध्यम नै बन्द गर्ने निर्णय अस्वीकार्य भएको पनि उनको भनाइ थियो ।
उनीहरूले बुद्धचोकमा भेला भएर सरकारले ‘उल्टो बाटो’ लिएको भन्दै सांकेतिक रूपमा केही बेर उल्टो हिँडेर विरोध जनाएका थिए । प्रदर्शनकारी समिर सापकोटाले उल्टो हिँड्दा दुर्घटना हुन्छ, त्यसैले सरकारलाई सुल्टो बाटोमा हिँड्न दबाब दिने उदेश्य रहेको बताए । उनले सरकारको कदम युवाको सिर्जनशीलतामाथि आघात भएको आरोप पनि लगाए । ‘सरकारले जेनजी पुस्ताको आवाज दवाउन खोजीएको छ । सामाजिक सञ्जाल बन्द गरेर हजारौं युवाहरुको रोजगारी खोस्ने काम सरकारले गरेको छ,’ उनले भने, ‘यसको परिणाम भयावह हुनेछ, सरकार र दलहरूले थेग्न सक्ने छैनन् ।’
बुद्धचोकमा भएको शान्तिपूर्ण सभाका क्रममा सहभागीहरूले आन्दोलन निरन्तर जारी राख्ने घोषणा गरेका छन् । उनीहरूले सामाजिक सञ्जाल प्रतिबन्ध तत्काल फिर्ता लिन, भ्रष्टाचार नियन्त्रण गर्न ठोस कदम चाल्न र युवालाई स्वतन्त्रता र अवसर दिन सरकारसँग माग गरेका छन् ।