मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २२ आइतबार १o:४२:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

इन्डोनेसियामा महँगीविरोधी प्रदर्शनले निम्त्याएको अस्थिरता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार १o:४२:oo
  • देशका ५८० सांसदलाई तलबका अतिरिक्त मासिक पाँच करोड इन्डोनेसियन रुपैयाँ (तीन हजार अमेरिकी डलर) आवास भत्ता पाउने रिपोर्ट बाहिरिएपछि सडकमा आक्रोश देखिएको हो 

इन्डोनेसियामा महँगीविरुद्ध उठेको हिंसात्मक सरकारविरोधी प्रदर्शनले अहिले पूरै देश हल्लाएको छ । राजधानी जकार्तामा प्रदर्शनका क्रममा प्रहरीको गाडीले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोश झन् बढेको छ । प्रदर्शन नियन्त्रणबाहिर गएपछि एक भिडियो सम्बोधनमा राष्ट्रपति प्रबोवो सुबियान्तोले शान्ति कायम गर्न आह्वान गरे । उनले आमनागरिकलाई सरकार र आफ्नो नेतृत्वमाथि विश्वास गर्नसमेत अनुरोध गरे । तर, राष्ट्रपतिको सम्बेधनले पनि मानिसलाई शान्त पार्न सकेको छैन ।

प्रदर्शनकारीले घुमुवा प्रहरीको ब्रिगेडको मुख्यालयमा ढुंगा प्रहार गरे । मध्य जकार्ताको क्विताङ छिमेकमा रहेको प्रहरीपरिसरनजिकै रहेको पाँचतले भवनमा आगो लगाइदिए । अधिकारीहरूका अनुसार प्रदर्शनकारीले आगो लगाइदिएको भनिएको भवनमा तीनजना मारिएका छन् । भारी वर्षाका बाबजुद भएको प्रदर्शनलाई अक्टोबरमा पदभार ग्रहण गरेका प्राबोवोको शासनका लागि सबैभन्दा ठुलो परीक्षाका रूपमा हेरिएको छ ।

पछिल्लो दंगालाई महिनौँदेखिको आर्थिक र राजनीतिक निराशाको पराकाष्ठा बताइएको छ । देशका ५८० सांसदलाई तलबका अतिरिक्त मासिक पाँच करोड इन्डोनेसियन रुपैयाँ (तीन हजार अमेरिकी डलर) आवास भत्ता पाउने रिपोर्ट बाहिरिएपछि आक्रोश सडकमा छताछुल्ल भएको हो । गत वर्षदेखि दिन थालिएको सो भत्ताको तथ्यांकगत जानकारी हालै सार्वजनिक भएको हो । सांसदहरूले पाउने भत्ता जकार्ता क्षेत्रलाई तोकिएको न्यूनतम ज्यालाको लगभग १० गुणा हो भने देशका विपन्न क्षेत्रको मासिक न्यूनतम ज्यालाको लगभग २० गुणा हो ।

२८ करोडभन्दा बढी जनसंख्या भएको इन्डोनेसियामा प्रहरी र संसद् सदस्यमाथि प्राय: भ्रष्टाचारको आरोप लाग्ने गर्छ । विरोध प्रदर्शन आयोजना गर्ने समूहमध्ये एक सदस्य गेजयन मेमांगिलले सांसदहरूको तलब कटौती गर्नुपर्ने आफूहरूको पहिलो माग भएको बताए । त्यसबाहेक प्रदर्शनकारीले कर र मुद्रास्फीतिले जनजीवन निकै कठिन भएको दाबी गरे । प्रदर्शनका आयोजकले मुद्रास्फीति दरअनुसार न्यूनतम ज्याला बढाउनसमेत माग राखेका छन् ।

पूर्वसैन्य जनरल रहेका राष्ट्रपति प्रबोवोले पाँच वर्षभित्र आर्थिक वृद्धि आठ प्रतिशतमा पुर्‍याउने र देश लगानीका लागि आकर्षक बनाउने वाचासहित चुनाव लडेका थिए । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक साझेदारमाथि लगाएको उच्च भन्सार शुल्कले अनिश्चिततालाई थप बढाएको छ । इन्डोनेसियाली सामान अमेरिका भित्रिँदा अहिले १९ प्रतिशत भन्सार दरको सामना गर्नुपर्ने हुन्छ । तथापि, वासिंटनले सिद्धान्तत: इन्डोनेसियाका पाम तेल, कोको र रबरमाथिको भन्सार शुल्क छुट दिन सहमत जनाएको छ । अमेरिका चीनपछि इन्डोनेसियाको दोस्रो ठुलो निर्यात बजार हो । विश्व बैंकले अनुमान गरेअनुसार इन्डोनेसियाको अर्थतन्त्र सन् २०२५ र २०२७ को बिचमा औसत ४.८ प्रतिशतले बढ्नेछ, जुन प्रबोवोले प्रतिज्ञा गरेको स्तरभन्दा धेरै कम हो ।

सोमबारदेखि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । त्यस दिन कालो पोसाक लगाएका प्रदर्शनकारीले इन्डोनेसियाको संसद् भवनमा प्रवेश गर्ने प्रयास गर्दा दंगा प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछिका दिन पनि विरोध जारी थियो । बिहीबार सामाजिक सञ्जालमा मोटराइकल चालक मारिएको भिडियो भाइरल भएपछि आक्रोश सुरक्षा बलविरुद्ध सोझियो र हिंसा झन् भड्कियो । मृतक २१ वर्षीय अफान कुर्नियावानले खाना वितरण गर्ने काम गरिरहेका वेला संसद् भवनबाहिर एउटा बख्तरबन्द प्रहरी गाडीले उनलाई ठक्कर दिएको बताइएको छ । दंगा प्रहरीले भिडलाई तितरबितर पारिरहेको समयमा उनी आक्रमणको घानमा परेको बताएको छ ।

कुर्नियावानको मृत्युपछि प्रदर्शनकारीले शुक्रबार जकार्तामा घुमुवा प्रहरीको ब्रिगेडको मुख्यालय घेराउ गरेका थिए । त्यहाँ केहीले ट्राफिक चिह्न र अन्य पूर्वाधार नष्ट गरे । रात पर्दै जाँदा झडप बढ्दै गयो र त्यो छिट्टै राजधानी जकार्ता र बाहिर फैलियो । अश्रुग्यासको प्रहारपछि पनि भिड तितरबितर भइरहेको थिएन । इन्डोनेसियाको दोस्रो ठुलो सहर सुराबायामा प्रदर्शनकारीले सवारी साधनमा आगो लगाउँदै गभर्नरको कार्यालयपरिसरलाई नै आक्रमणको निसाना बनाएका थिए । त्यहाँ पनि सुरक्षा बलले अश्रुग्यास, पानीको फोहोरा प्रयोग गरेका थिए । तर, प्रदर्शनकारीले काठका भाँडामार्फत प्रतिकार गरे । त्यसपछि देशका अन्य सहरमा पनि प्रदर्शन भए । तिनमा पूर्वी पपुवा क्षेत्रको सुराबाया, सोलो, योग्याकार्ता, मेदान, मकास्सर, मानाडो, बान्डुङ र मनोकवारी समावेश छन् ।

इन्डोनेसियाको विपत् व्यवस्थापन निकायले शनिबार जकार्ताबाट करिब एक हजार ६०० किलोमिटर पूर्वमा रहेको मकास्सरको क्षेत्रीय संसद् भवनमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको बताएको छ । अधिकारीले शुक्रबार प्रदर्शनकारीले उक्त भवनमा आगो लगाएको बताएका छन् । इन्डोनेसियाका राष्ट्रपतिले २१ वर्षीया कुर्नियावानको मृत्युको कारणमाथि ‘पूर्ण र पारदर्शी अनुसन्धान’ गर्न आह्वान गरेका छन् । इन्डोनेसियाको सेयर बजारमा सेयरको तीव्र बिक्री भइरहेकै समयमा सुरु भएको पछिल्लो विरोध–प्रदर्शनले प्रबोवोको प्रशासनमाथि संकट थपेको छ । तीव्र सेयर बिक्रीका कारण शुक्रबार इन्डोनेसियन रुपैयाँको भाउमै गिरावट आएको थियो । यस्तोमा प्रबोवोले आक्रोशित जनसंख्यालाई आश्वस्त पार्ने प्रयास गर्दा थप आर्थिक मन्दीले आगोमा घिउ थप्न सक्छ ।

निर्वाचित भएपछि ‘लोकतान्त्रिक रूपमा काम गर्ने’ वाचा गरेका प्रबोबोले आवश्यक परेमा ‘निर्णायक कारबाही’ गर्नबाट पछि नहट्ने चेतावनी दिएका थिए । बढ्दो संकटबिच पूर्वजनरलले सत्ता जोगाउन निरंकुश तरिका अपनाउन सक्ने चिन्ता बढेको छ ।

–अलजजिराबाट