
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चेपाङ समुदायले मनाउने न्वाँगी (छोनाम) पर्व २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री बानियाँले आइतबार एक शुभकामना सन्देश जारी गर्दै न्वाँगी पर्वले समाजमा एकता, भाइचाराको भावना जागृत गराउने विश्वास व्यक्त गरेका छन् ।
चेपाङ समुदायको सांस्कृतिक, सामाजिक र धार्मिक महत्त्व बोकेको यस पर्वले राष्ट्रिय एकता र सदभावलाई अझ मजबुत बनाउन मद्दत पुग्ने शुभकामना सन्देशमा उल्लेख छ ।
उनको भनाइमा नेपाल विभिन्न जातजाति, भाषा, संस्कृति र परम्पराले समृद्ध देश भएकाले यस्ता पर्वहरूले विविधताभित्र एकताको सन्देश दिने गर्दछ । यस्तै, न्वाँगी पर्वले कृषिसँग जोडिएको मौलिक संस्कृति संरक्षण र समुदायबिच सदभाव अभिवृद्धि गर्ने उनको विश्वास छ ।
मुख्यमन्त्री बानियाँले चेपाङ समुदायले यस पर्वलाई ऐतिहासिक र सांस्कृतिक पहिचानका रूपमा मनाउँदै आएको उल्लेख गर्दै यसले राष्ट्रिय पहिचान र सामाजिक सदभावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । साथै उनले न्वाँगी पर्वले समाजमा नयाँ ऊर्जा, प्रेरणा र उत्साह जगाई देशलाई अगाडि बढ्ने बाटोमा प्रोत्साहन गर्ने बताएका छन् ।
शुभकामना सन्देशमा मुख्यमन्त्री बानियाँले देश र प्रदेशको समृद्धि, शान्ति, एकता र प्रगतिका लागि सबैलाई शुभेच्छा समेत व्यक्त गरेका छन् ।
बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वाँगी अर्थात् छोनाम पर्वको अवसरमा आज प्रदेशका तीन जिल्ला मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिइएको छ ।