मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २२ आइतबार १o:२२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पल्सर स्पोर्टस् अवार्ड : चार विधाका मनोनयन सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार १o:२२:oo

 एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्र्तगत वर्ष ०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को खेलाडी छनोट समितिले शनिबार २२औँ संस्करण स्पोर्टस् अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी तथा वर्ष प्रशिक्षकमा समान उत्कृष्ट पाँचजनाको मनोनयन गरिएको छनोट समितिले जनाएको छ । 

वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको विजेतालाई पल्सर मोटरबाइक प्रदान गरिनेछ । अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर पाउने मञ्चले जनाएको छ । वर्ष पुरुषमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, उसुका विजय सिन्जाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र खो–खो खेलका जनक चन्द मनोनयनमा परेका छन् । महिलातर्फ कराँतेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, कराँतेकी एलिसा रास्कोटी मगर, खो–खोकी मानमती धामी र भलिबलकी सलिना श्रेष्ठ परेका छन् । 

वर्ष २०८१ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त सफलता र उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयन गरिएको मञ्चका सचिव तथा छनोट समितिका संयोजक अनिल मल्ल ठकुरीले जानकारी दिएका छन् । वर्ष युवा खेलाडीको मनोनयनमा एथलेटिक्सका अजय विक, कराँतेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ परेका छन् । वर्ष प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा, कराँतेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो–खोका लक्ष्मीनारायण वैद्य मनोनयन परेका छन् । अवार्ड पोखरामा भदौ २९ गते आयोजना हुनेछ ।

पाँचसदस्यीय छनोट समिति
ठकुरीको संयोजकत्वमा रहेको पाँच सदस्यीय छनोट समितिले खेलाडी र प्रशिक्षक छनोट गरेको हो । सो समितिमा निरञ्जन राजवंशी, प्रजित शाक्य, हिमेशरत्न बज्राचार्य र विराट रायमाझी छन् । पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डको दिन सबै विधाको विजेता घोषणा गरिने आयोजकले जनाएको छ । ‘वर्ष ०८१ मा नेपाली खेलाडीले ऐतिहासिक सफलतासँगै धेरै राम्रो नतिजा पाएकाले मनोनयनमा पर्न कठिन भएको थियो,’ मञ्चका पूर्वअध्यक्ष राजवंशीले बताए । उनले एक वर्षभर नेपाली खेलकुदले पाएका सफलतालाई दस्तावेजका रूपमा राखिएको र त्यसले छनोट गर्न सहज भएको बताए । 

मनोनयन सार्वजनिक कार्यक्रममा छनोट समितिका सदस्य प्रजित शाक्यले नेपाली खेलकुदले लामो समयदेखि प्रतीक्षा गर्ने कार्यक्रमका रूपमा अवार्ड रहेको बताए । एआइपिएसका अध्यक्ष जियानी मेर्लो अवार्ड कार्यक्रममा सहभागी हुनेछन् । 

अवार्डकै पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यस विधामा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबलटेनिस) छन् । यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा गु्रपको बजाज पल्सर मोटरसाइकल रहेको छ ।