
आरएस रिसोर्ट एन्ड बिच फुटबल राष्ट्रिय एन्फा महिला लिगमा छनोट भएको छ । एन्फा महिला लिग छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा बिहीबार स्टुडेन्ट्स फुटबल क्लबलाई ४–१ ले हराउँदै आरएसले महिला लिगमा स्थान सुरक्षित गरेको हो । आरएसको जितमा सरिता बिकेले दुई गोल गरिन् ।
जितसँगै ६ खेलबाट १५ अंक जोडेको आरसी समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । समान ६ खेल नै खेलेको राप्ती एफसी १३ अंकसहित दोस्रो स्थानमा छ । ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले १३ अंक जोडेको छ । चर्च ब्वाइजसँग अन्तिम खेल खेल्न बाँकी रहेको छहारी १० अंकसहित चौथो स्थानमा छ । यस समूहबाट अब एक टोलीको टुंगो चर्च ब्वाइज र छाहरीबिचको अन्तिम खेलको नतिजाबाट हुनेछ ।
हरेक समूहबाट विजेता र उपविजेता सिधै महिला लिगमा छनोट हुनेछन् । बाँकी एक स्थानका लागि भने दुवै समूहका तेस्रो टोलीबिच नकआउट खेलबाट छिनोफानो हुनेछ । सो खेलको विजेताले पाँचौँ टोलीका रूपमा एन्फा महिला लिगमा स्थान बनाउनेछ । समूह ‘बी’बाट संकटा क्लब यसअघि नै महिला लिगमा छनोट हुने पहिलो टोली बनेको थियो ।
छनोट प्रतियोगिताको समूह ‘बी’मा संकटा लगातार पाँचौँ जित निकाली पहिलो टोलीका रूपमा राष्ट्रिय महिला लिगमा छनोट भएको थियो । संकटाले पाँच खेलमा सर्वाधिक १५ अंक बटुलेको छ । समूह ‘बी’मा झापा एफसी १२ अंकका साथ दोस्रो स्थानमा छ । एनआरटीको पनि १२ अंक छ । यी दुईमध्ये एक टोली राष्ट्रिय लिगमा छनोट हुनेछ । छनोट प्रतियोगितामा सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
आरएस रिसोर्ट पहिलो हाफमै बलियो
आरएस रिसोर्टले स्टुडेन्ट्स फुटबलमाथि पहिलो हाफमा दबाब राखेको थियो । आरएसले मध्यान्तरअघि ३–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा उसले केवल एक गोल मात्र गर्यो । खेलको पहिलो मिनेटमै विपनाले आरएसलाई १–० को अग्रता दिलाइन् । खेलको नवौँ मिनेटमा सरिताले आरएस रिसोर्टलाई २–० को स्थितिमा राखिन् । खेलको २५औँ मिनेटमा वसन्तीले स्टुडेन्ट्स फुटबललाई खेलमा फर्काउँदै २–१ को गोलअन्तरमा ल्याइन् । पहिलो हाफको इन्जुरी समयमा सरिताले व्यक्तिगत दोस्रो गर्दा आरएस रिसोर्ट ३–१ को बलियो स्थितिमा पुग्यो । दोस्रो हाफको इन्जुरी समयमै आरएस रिसोर्टले ४–१ को सहज जित निकाल्यो ।