
दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षगाँठ मनाउन बेइजिङमा आयोजित विशाल सैन्य परेडमा चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गर्यो । हजारौँ सेनाको उपस्थितिमा गरिएको परेडमा बेइजिङले आफ्नो पछिल्लो पुस्ताको लडाकु विमान, तोप र ब्यालिस्टिक क्षेप्यास्त्र प्रदर्शन गर्यो । बुधबार बिहान तियानमेन स्क्वायरमा भएको परेडको निरीक्षण चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेका थिए । सी चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुखका अतिरिक्त चीनको राष्ट्रिय सेना ‘जनमुक्ति सेना’का पनि प्रमुख हुन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलगायत विदेशी नेतालाई परेडका लागि स्वागत गरेपछि सीले चिनियाँ सैन्य भेटरान्सलाई स्वागत गरेका थिए । पुटिन र किमसँगै परेडमा २६ विश्व नेताले भाग लिएका थिए, जो प्राय: गैरपश्चिमी देशका सरकार वा राष्ट्रप्रमुख थिए ।
सीले तियानमेन स्क्वारको ‘गेट अफ हेभेनली पिस अर्थात् स्वर्गीय शान्तिको ढोका’मा रहेर परेड अवलोकन गरेका थिए । परेडमा जनमुक्ति सेना (पिएलए), नौसेना र वायुसेनाका १० हजार जवानले भाग लिएको बताइएको छ । सैन्य सदस्यलाई सीले सम्बोधन पनि गरे । सम्बोधनका क्रममा सीले चीन शान्तिपूर्ण विकासको मार्गमा लागिरहने बताए ।
‘विश्व फासीवादविरोधी युद्ध’मा ‘जापानी आक्रमण’माथि चीनको विजयबारे कुरा गर्दा सीले त्यस क्रममा विदेशी सरकारले दिएको सहयोगका लागि धन्यवादसमेत दिए । चीनमा दोस्रो विश्वयुद्ध अन्त्य गर्न अमेरिकाको समेत भूमिका थियो । तथापि, सीले संयुक्त राज्य अमेरिकाको नामै भने लिएनन् ।
उनले भने कि युद्धबाट प्राप्त पाठ अहिले पनि पहिलेजस्तै सान्दर्भिक रहेकोमा जोड दिए । ‘विश्वले फेरि शान्ति वा युद्ध, संवाद वा टकराव र विन–विन परिणाम वा एउटालाई हराएर मात्र अर्कोले जित्ने खेलको छनोटको सामना गरिरहेको छ,’ सीले आफ्नो भाषणका क्रममा भने ।
‘चिनियाँ जनता इतिहासको सही पक्षमा र मानव प्रगतिको पक्षमा दृढतापूर्वक उभिनेछन् । शान्तिपूर्ण विकासको मार्गमा लाग्नेछन् । र, मानवताको साझा भविष्य निर्माण गर्न विश्वका बाँकी देशसँग हात मिलाउनेछन्,’ उनले भने । राष्ट्रपति सीले चीनको राष्ट्रिय पुनरुत्थानमा सेनाले महत्वपूर्ण भूमिका रहिरहने कुरामा पनि जोड दिए ।
उता सैन्य परेडबारे प्रतिक्रिया दिने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सी र उनको देशलाई सदिच्छा व्यक्त गरे र साथमा दोस्रो विश्वयुद्धमा अमेरिकाले खेलेको भूमिका सीले स्विकार्छन् कि स्विकार्दैनन् भन्ने प्रश्न गरे । ‘चीनको जित र सम्मानको लक्ष्यमा धेरै अमेरिकीले ज्यान गुमाएका थिए,’ ट्रम्पले भने ।