
एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक गरिएको छ । इन्फिनटी ड्रिम्स प्रालिको आयोजनामा २० देखि २८ भदौसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा सञ्चालन हुने दोस्रो संस्करणको प्रतियोगिताको ट्रफी पोखराको फेवातालस्थित बाराहीघाटमा बुधबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायले ट्रफी सार्वजनिक गरेका थिए । कार्यक्रममा पोखरा निन्जाजबाट सहभागी टिमका खेलाडीहरूलाई स्वागत समेत गरिएको थियो ।
स्वागतपछि आचार्यसहित पोखरा निन्जाजका खेलाडीहरूले फेवातालमा ट्रफी टुर गर्दै तालको बीचमा रहेको बराही मन्दिर परिक्रमा समेत गरेका थिए ।
ट्रफी सार्वजनिकपछि मेयर आर्चायले पोखरा भ्रमण वर्ष २०२५ जारी रहेको समयमा प्रतियोगिता पोखरामा आयोजना हुनु भनेको पोखरा र यस क्षेत्रको लागि निकै महत्वपूर्ण रहेको बताए ।
पोखरा पर्यटनको राजधानी शहरसँगै खेल पर्यटनको लागि समेत उत्तिकै परिचित सहर रहेकाले प्रतियोगिताको माध्यमबाट दुबै क्षेत्रलाई फाइदा हुने मेयर आर्चायले बताएका थिए ।
प्रतियोगिताले पोखराको पर्यटनलाई थप उचाइमा पुर्याउने बताउँदै पछिल्लो समय पोखरा राष्ट्रिय एवं अन्तराष्ट्रिय इभेन्टहरूको सहरका रुपमा समेत विकसित हुँदै गइरहेको र यस्ता कार्यक्रमहरुले पोखरा र आसपासका क्षेत्रलाई थप चलायमान बनाउन सहयोग गर्ने धारणा राखेका थिए ।
लिगको उद्घाटन खेल पोखरा निन्जाज र कर्णाली यसबिसबिच हुनेछ । उद्घाटन खेल २० भदौ दिउँसो २ बजेमा हुनेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा पोखरा निन्जाज, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइेटेड र लुम्बिनी लाभाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नौ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमहरूबाट नौ देशका १८ विदेशी खेलाडी पोखराको मैदानमा उत्र्दैछन् । एसियाको पहिलो महिला फ्रेन्चाइज भलिबल लिगको रुपमा रहेको प्रतियोगिताले नेपाल र एसियामा महिला पेशागत भलिबलको लागि ऐतिहासिक प्लेटफर्मको रुपमा रहने आयोजकको दाबी रहेको छ ।
प्रतियोगिता सञ्चालन हुनु एक दिनअघि अर्थात १९ भदौमा पोखराका मेयर धनराज आचार्य र अभिनेता राजेश हमालको टिमबिच प्रदर्शनी खेल हुने भएको छ । पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइडको हलन्चोकमा १९ भदौ १६ः०० बजे दुई टोलीबिच प्रदर्शनी भलिबल खेल हुने भएको हो ।
प्रदर्शनी खेलमा चर्चित कलाकार, विदेशी खेलाडी र फ्रेन्चाइज टिमका प्रमुख खेलाडीहरू सहभागी हुनेछन् । टिममा फ्रेन्चाइज टिमका टिम एम्बासेडर, प्रमुख खेलाडी, विदेशी खेलाडी, पोखरा आधारित स्थानीय इन्फ्लुएन्सरहरु, पोखरामा भलिबलसँग सम्बन्धित व्यक्तिहरू सहभागी हुनेछन् ।
खेलमा आना शर्मा, सनीषा भट्टराई, र आदिती बुढाथोकी लगायतका कलाकारसँगै प्रमुख खेलाडीहरू अरुणा शाही, प्रगति पुन, सलिना श्रेष्ठ, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, उषा भण्डारीलगायतका खेलाडी समेत सहभागी हुनेछन् ।
प्रदर्शनी खेलले उद्घाटनको माहोल तयारसँगै महिला भलिबलको बढ्दो लोकप्रियतालाई उत्सवको स्वरुप प्रस्तुत गर्दै, पोखरामा खेलकुद, मनोरञ्जन र सामुदायिक सहभागिता प्रवद्र्धन गर्ने आयोजकको विश्वास छ ।