
रुपन्देहीमा प्रहरीले लागु औषधसहित तीनजनालाई पक्राउ गर्नुका साथै भकारीमा लुकाएको १० लाख २० हजार रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका तीन स्थानबाट लागु औषधसहित तीनजना पक्राउ परेका हुन् ।
कोटहीमाई गाँउपलिका–५ घर भई सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवा बस्ने २६ वर्षीय इर्फान अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । अन्सारीलाई लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रुपन्देही र प्रहरी चौकी मेउडिहवा रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । अन्सारी बस्ने घर डेरामा खानतलासी गर्दा लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको धुलो पदार्थ १.७३० मिलिग्राम फेला परेको थियो । लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिप्रकाका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जनाएका छन् ।
यस्तै, इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१ बन्दरगाहामा चेकजाँच गर्ने क्रममा सिद्धार्थनगर–१ बाइपास बस्ने २६ वर्षीय प्रेमलाल यादवबाट लागु औषध बरामद गरेको थियो । प्रहरीले १.०३ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागु औषधसहित मोटरसाइकल, मोबाइल बरामद गर्नुका साथै यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको छ ।
रोहिणी गाउँपालिका–६ ललितपुर पकडिहवाबाट पनि एकजनाई नियन्त्रणमा लिएको छ । जिप्रकाका अनुसार सो स्थानमा लागु औषध कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले चेकजाँच गर्ने क्रममा रोहिणी–६ ललितपुर पकडिहवा बस्ने ३५ वर्षीय ईरसाद प्रवेजलाई नियन्त्रणमा लिएको हो । ओमसतिया गाउँपालिका–४ पननी स्थितबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा निजलाई फेला पारी चेकजाँच गर्दा मोटरसाइकलको बायाँतर्फको लेगार्डमा कालो प्लास्टिकमा बेरी राखेको विभिन्न नामका २९३ एम्पुल फेला परेको थियो ।
यस्तै, प्रवेजको घरमा खानतलासी गर्दा सुत्ने कोठामा रहेको गहुँ राख्ने टिनको भकारीमा कालो रङको प्लाष्टिकमा बेरी लुकाई छिपाई राखिएको नगद रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ । भकारीमा राखिएको १० लाख २० हजार अबैध रकम, स्पास्मो जस्तो देखिने क्याप्सुल २६० पिस लागु औषध, मोटरसाइकल, मोबाइलसहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।