मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

प्रहरी प्रधान कार्यालयमा आइजिपी थापाको बिदाइ, बिहीबारदेखि खापुङले नेतृत्व सम्हाल्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१७:oo

३० वर्ष सेवा अवधि पूरा गरी आजदेखि सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दीपक थापा तथा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदीप गिरी र टेकबहादुर तामाङलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबिच बिदाइ गरिएको छ। नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले शुभकामनासहित उनीहरूको बिदाइ गरेका हुन्। 

 

 

    बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक  थापाले आफ्नो सेवा अवधिमा नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेको जिम्मेवारीहरूलाई पूर्ण इमानदारी, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको  बताए।  कानुनी शासनको प्रत्याभूति दिलाउने, मानव अधिकारको संरक्षण, सम्मान एवं प्रवर्द्धन गर्ने, प्रमाणमुखी अनुसन्धानको साथै आमनागरिक र प्रहरीबिचको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल प्रहरीको विधि र पद्धतिलाई अंगीकार गरेर सामूहिक भावना तथा भातृत्व भावका साथ जिम्मेवारी निर्वाह गरेको उनको भनाइ थियो। संगठनको संस्थागत विकासको लागि आन्तरिक सुदृढीकरण र शुद्धीकरण, प्रहरी कर्मचारीहरूको वृत्तिविकास, कल्याणकारी सेवा सुविधाको विस्तार, प्रहरी कार्यमा प्रविधिको प्रयोग, समयसापेक्ष तालिम तथा नीतिगत सुधारमार्फत संगठनलाई थप सक्षम, आधुनिक र व्यावसायिक बनाउन आफ्नो प्रयास सदैव केन्द्रित भएको उनले उल्लेख गरे। आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्याउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरूप्रति उनले आभार प्रकट गरेका छन् । 

 

      थापाले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ अत्यन्तै साहसी, निष्ठावान् र क्षमतावान् व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा उनले संगठनलाई थप नयाँ उचाइ दिने विश्वास व्यक्त गरे। समारोहमा प्रहरी महानिरीक्षक दीपक थापाले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवं प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई हस्तान्तरण गरेका छन्। 

 साथै, नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दीपक थापालगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरेका छन्। उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले विभिन्न आरोह अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लागेका आइजिपी थापासहित वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन्। सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूले संगठनको श्रीवृद्धिका लागि पुर्याएको योगदान अतुलनीय रहेको चर्चा गर्दै नेपाल प्रहरीको गरिमा अभिवृद्धिमा महत्वपूर्ण टेवा पुगेको तथा सेवा निवृत्तपछि पनि व्यावहारिक सल्लाह, सुझाव, परामर्श र पृष्ठपोषण प्राप्त हुने विश्वास उनको छ। संगठनमा विगतमा भएका असल अभ्यासहरूलाई नेपाल प्रहरीको आगामी राणनीति तथा कार्ययोजनाहरूमा समेटी निरन्तर अगाडि बढाउने प्रतिबद्धता खापुङले व्यक्त गरेका छन्। 
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले बिहीबारदेखि प्रहरीको नेतृत्व सम्हाल्दै छन्। 
 

छुटाउनुभयो की ?