
जगबुढा नदी गाउँ पसेपछि विस्थापित भएका दोधाराचाँदनीका बाढीपीडित दुई दिनदेखि विद्यालयमा बसिरहेका छन् । वर्षातसँगै नदी गाउँ पसेर घरखेत डुबान भएपछि उनीहरू हिजाे साेमबारदेखि विभिन्न विद्यालयमा बस्न थालेका हुन् ।
दोधाराचाँदनी–३ पटराखल्लाका १५ परिवार जमुना आवि विद्यालय, रामपुरे टापुका २५ परिवार जनज्योति मावि र शान्ति टोलका १२ परिवार अम्बिका माविमा कष्टकर रुपमा बसिरहेका छन् ।
घरभित्र पसेको पानी नघटेपछि उनीहरू विद्यालयमै बस्न बाध्य भएका हुन् । दोधाराचाँदनी नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले घर जाने अवस्था नभएपछि पीडित परिवार विद्यालयमै बसेको बताए ।
‘यसपटक महाकालीभन्दा जगबुढा नदीले तटिय क्षेत्रका बासिन्दालाई बढी प्रभावित पारेको छ,’ उनले भने, ‘विद्यालयमा बसेका बाढीपीडितलाई नगरपालिकाले विभिन्न संघ संस्थामार्फत खाद्यान्न र गैरखाद्य वस्तु वितरण गरेका छौँ ।’
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले घर फर्किने अवस्था अझै नभएको र मंगलबार पनि वर्षा भइरहेपछि उनीहरू विद्यालयमै बसेको बताए । ‘भुजेला खोलाबाट विस्थापित पाँच परिवार भने घर फर्किसकेका छन्,’ प्रजिअ ढकालले भने, ‘दोधाराचाँदनीतर्फका पीडित पनि मौसम सफा रहे बुधबारसम्म फर्किन्छन् ।’
बाढीपीडित मात्रै होइन सशस्त्र प्र्रहरी बल सुन्दरनगर र कञ्चनभोजका सशस्त्र प्रहरी पनि कार्यालय फर्किएका छैनन । उनीहरू पनि ओमकार विद्यालय र शहरी खोप केन्द्रको भवनमै बसेका छन् ।
प्रमुख जिल्ला अधिकारी ढकालले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै थप उद्धार, राहतदेखि अझै पनि मौसम प्रतिकुलै रहेकाले जगबुढा, महाकाली, चौधर, मोहनासहित नदीखोला नाला तटिय क्षेत्रका स्थानीय सचेत रहन आग्रह गरेका छन् ।