
सिरहाको लहान नगरपालिकाका वडाध्यक्षहरूले उपमेयर रामचलितर महतोको कार्यकक्षमा तालाबन्दी गरेका छन् । सरकारबाट उपलब्ध अनुदानको रासायनिक मल वितरणमा उपप्रमुखले विवाद निम्त्याउन खोजेपछि वडाध्यक्षहरूले कार्यकक्षमै ताला लगाइदिएका हुन् ।
पछिल्लो नगर कार्यपालिका बैठकबाट अनुदानको रासायनिक मल वितरणमा नगर प्रमुख र उपप्रमुखको छुट्टै कोटा निर्धारण खारेज गर्ने निर्णय भएको लहान–२४ का वडाध्यक्ष रासलाल रायले जानकारी दिए । नगर कार्यपालिकाको निर्णय बमोजिम प्रमुख प्रशासकीय अधिकृत र कृषि शाखा प्रमुखले तयार गरेको कागजात उपमेयर महतोले च्यातेपछि वडाध्यक्षहरूले उनको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । ‘दैनिक मलखादका लागि किसानहरु वडामा धाउने, मल वितरण व्यवस्थापन समितिका संयोजक समेत रहेका उपमेयरले कागजात नै च्यातिदिने, प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने, अभद्र व्यवहार गर्न थालेपछि उहाँको कार्यकक्षमा तालाबन्दी गरेका हौं,’ लहान–६ का वडाध्यक्ष रमेश उपाध्यायले भने ।
नगर कार्यपालिकाको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तह मल वितरण व्यवस्थापनसमितिका सदस्य सचिव कृषि शाखा प्रमुखले आवश्यक कागजात तयार गरी अनुदानको रासायनिक मल बिक्रेताहरूका लागि परिमाण तोकेर सिफारिस गर्ने तयारी गरिरहेका बेला पुगेका उपमेयरले कागजात च्यातेको उनले बताए ।
‘उपमेयर जस्तो व्यक्तिले कागजात च्यात्नुका साथै अभद्र व्यवहार गर्दै केही व्यक्तिको हुल लगेर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेपछि अवस्था बिग्रिएको हो,’ उनले भने, ‘उपमेयरको कारणले किसानहरू मल पाउनबाट बञ्चित भएका छन् ।’
यसलगत्तै वडाध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उपमेयरले पटकपटक आफ्नो कोटा तोकेरै मलखाद वितरणको सिफारिस गर्न दबाब दिएको र प्रमुख प्रशासकीय अधिकृतले नमानेपछि गाली बेइज्जती गर्नुका साथै कार्यकक्षमा तालाबन्दी गरेको वडाध्यक्षहरूको दाबी छ ।
उपमेयर महतोले हरेक लटमा आफ््नो कोटाबवापत डेढ सय बोरा मल छुट्याउन दबाब दिँदै आए पनि समितिका अन्य सदस्यले नमानेपछि बखेडा झिकेको एक वडाध्यक्षले बताए । ‘उपमेयरको केही गुनासो, सुझाव वा टिप्पणी भए कार्यपालिकाको बैठकमा राख्ने बाटो खुला हुँदाहुँदै नगर कार्यपालिकाको निर्णयको उल्लंघन गर्ने र वडाध्यक्षहरूको मर्यादामा समेत आँच पुर्याउने गलत काम गर्नुभयो,’ उनले भने । वडाध्यक्षहरूको संयुक्त विज्ञप्तिमा वार्ता र संवादबाट समस्या समाधान नभएसम्म तालाबन्दी नखोलिने उल्लेख छ ।
लहान नगरपालिकाका २४ वडाका किसानलाई अनुदानको रासायनिक मल वितरणका लागि कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनलाई नगरपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन समितिले बिक्रेताको नाम किटान गरी परिणाम तोकेर सिफारिस गर्ने र बिक्रेताहरूले वडाध्यक्षको सिफारिसमा किसानहरूलाई बाँड्दै आएका छन् ।