मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८२ भदौ १६ सोमबार १८:५६:oo
Read Time : > 1 मिनेट
समाचार

रुपैठाको विवाद समाधान गर्न दुवै पक्ष सहमत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार १८:५६:oo

जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठामा दुई समुदायबिच भएको विवाद समाधान गर्ने सहमति भएको छ । झण्डा उखलेको विषयमा हिन्दू र मुस्लिम समुदायबिच भड्किएको तनावलाई अन्त्य गर्न आज धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकमा यस्तो सहमति भएको हो । 

सहमतिअनुसार अबदेखि दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहका अनुसार १४ र १५ भदौमा भएको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने र भविष्यमा कुनै पनि समुदाय वा व्यक्तिले धार्मिक वा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्ने सहमति भएको हो । त्यस्तो गतिविधि गर्न खोज्ने व्यक्तिमाथि सुक्ष्म निगरानी गरी कानुनी प्रक्रिया अघि बढाइने पनि बैठकमा निर्णय भएको छ ।

सहमतिअनुसार दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सद्भाव कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि र दुवै धार्मिक समुदायका अगुवाहरू सहभागी बैठकले विगतमा तेलिया पोखरीमा भएको विवाद व्यवस्थापन गर्ने विषयमा पनि सहमति गरेको छ ।

गत शनिबार गणेश पूजाको मुर्ति बिसर्जनपछि फर्कने क्रममा हिन्दू समुदायले स्थानीय टावरलाइट पोलमा बाँधिएको हरियो झण्डा हटाउन खोज्दा विवाद उत्पन्न थियो । त्यही क्रममा दुवै पक्षबिच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ११ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

आइतबार विवाह भएको स्थानीय तहकै भएको सर्वपक्षीय सहमतिअनुसार प्रहरीले झण्डा हटाउँदा हिन्दु पक्षले विरोध गरेपछि तनाव उत्पन्न भएको थियो । आइतबार प्रहरी र हिन्दु पक्षबिच झडप समेत भएको थियो । अवस्था नियन्त्रणबाहिर गएपछि प्रहरीले ३० राउन्ड फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो । सो घटनामा स्थानीय २९ वर्षीय लक्ष्मण मुखियाको दुवै खुट्टामा गोली लागी घाइते भएका छन् भने ढुंगामुढामा सातजना प्रहरी घाइते भएका थिए ।
 

छुटाउनुभयो की ?