
कांग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा चालकलाई भरुवा बन्दुक तेर्साउँदै यात्रुसहितको टाटा सूमो रोकेका छन् । खार्मी घर भएका कांग्रेस नेता राईले दिक्तेलतर्फ आउँदै गरेको ना१ज ४३७२ नम्बरको सुमोलाई आज (सोमबार) बिहान आफ्नै घर अगाडि बन्दुक तेर्साएर रोकेका हुन् ।
आफूहरूले सडक मर्मत गरेको भन्दै सहयोग रकम माग गर्दै कांग्रेस नेता राईले बन्दुक तेर्साएको चालक सविन तामाङले बताए । चालक तामाङका अनुसार नेता राईले सडकमा बाँस तथा मुढाहरू सडक राखेर अवरोध गर्दै आक्रमणको प्रयास गरेका थिए ।
चालक तामाङलाई ताकेको भरुवा बन्दुक नेता राईकै श्रीमती टीका राईलगायतले खोसेको सूमोमा सवार यात्रु खार्मीस्थित तुर्खाका दिलिप राईले बताए । नेता राईले आइतबारसमेत यात्रु लिएर दिक्तेल जाँदै गर्दा आफूलाई पैसा मागेको चालक तामाङले जनाएका छन् ।
नेता राईको अवरोधकाबिच आइतबार काठमाडौँ जाने यात्रुलाई समयमै दिक्तेल पु¥याउनुपर्ने भएकाले सुमो भगाएर गाउँ पार गराएको चालक तामाङले बताए । सोमबार भएको घटनापछि बिच बाटोसम्म आफ्नो भाइलाई बोलाएर यात्रुसहितको सुमो दिक्तेल पठाएको चालक तामाङले बताएका छन् ।
राईले आइतबार अर्का सुमो चालक जीवन कार्कीबाट भने तीन हजार रुपैयाँ असुलेको यातायात व्यवसायीहरूले बताएका छन् । चालक तामाङकै पछिपछि आइरहेको ना१ज ८१६९ नम्बरको सूमो चालक कार्कीबाट नेता राईले घर अगाडी रोकेर रकम लिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घटनालगत्तै चालक तामाङले अस्थायी प्रहरी चौकी खार्मीमा भिडियो क्लिप्ससहित आफूहरूलाई खबर गरेको प्रहरीले जनाएको छ । घटनास्थल अर्थात नेता राईको घरमा टोली पुग्दा ताला लगाएको पाएको प्रहरी चौकीका इन्चार्ज वरिष्ठ हवल्दार वीन्द्रबहादुर नेपालीले जानकारी दिए ।
घटनास्थलमा जिल्लाबाट समेत प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढोथोकीले बताए । जिल्लाबाट खटिएका प्रहरीले नेता राई दम्पतीको खोजी सुरु गरेको जनाएको छ ।
खार्मीमा भएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न वडाध्यक्ष इखबहादुर राईले सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह गरेका छन् ।
कांग्रेस नेता राईले मादक पदार्थ सेवन गरेर यसअघि पनि गाउँमा अशान्ति सिर्जना गर्दै आएको स्थानीयले बताएका छन् । नेता राई खार्मीस्थित जालपा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत हुन् ।