मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 04 September, 2025
Invalid date format १८:३१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा ओझाको प्यानलसहित उम्मेदवारी घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३१:oo

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा पुस्करराज ओझाले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका ओझाले सोमबार आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।

ओझाको प्यानलबाट संघको वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उपाध्यक्ष उद्योगतर्फ बासुदेव भट्ट, उपाध्यक्ष वाणिज्यतर्फ गगनराज केसी, उपाध्यक्ष वस्तुगततर्फ भीमराज ओझा ‘अब्बु’ र एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल उम्मेदवार रहेका छन्। वरिष्ठ उपाध्यक्षका उम्मेदवार बिष्ट संघका वर्तमान महासचिव र वस्तुगत उपाध्यक्षका उम्मेदवार ओझा कोषाध्यक्ष हुन्।

त्यस्तै, महासचिवमा दिनेश लम्साल, सचिवमा कृष्णाकुमारी बिष्ट र कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायतले ओझा प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन्। यो प्यानलबाट संघको कार्यसमिति सदस्यको उम्मेदवारहरूमा बमबहादुर कुँवर, ध्रुवराज दाहाल, रेखा बास्तोला, पदमबिक्रम सिंह, अजय पाण्डेय, टेकबहादुर खड्का, तर्कराज भट्ट, सुरजबहादुर रैका, प्रजापति जोशी, कमला भट्टराई, अनुप भण्डारी, बिन्दु सुनार र सुरेश सापकोटा छन्।

प्यानलसहित उम्मेदवारी घोषणा गर्दै ओझाले व्यवसायीको हकहितसँग जोडिएका १५बुँद घोषणापत्र पनि सार्वजनिक गरेका छन्। उनले आफू अध्यक्षमा निर्वाचित भएपछि हरेक व्यवसायीलाई एक लाख रुपैयाँसम्मको दुर्घटना बिमा निःशुल्क गराउने तथा विपत् वा संकटमा परेका व्यवसायीलाई राहत र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

बैंकिङ कसुर, चेक बाउन्स, भन्सार र बिमा दाबीजस्ता व्यवसायीका समस्या समाधान गर्न पाँचसदस्यीय समिति गठन गरी काम तीव्र रूपमा अगाडि बढाउन सहयोग गर्ने तथा अवैध आयातमा रोक लगाई भन्सारमा देखिने समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

युवा र महिलालाई लक्षित गर्दै स्टार्टअप समर्थन कार्यक्रम सुरुवात गर्ने, संघमा व्यवसायी सहायता कक्ष स्थापना गर्ने, संघले विगतमा थालेको सुन्दर सुदूरपश्चिम अभियानलाई पुनर्जागृत गराउने, सुदूरपश्चिमका उत्पादनलाई प्रवर्द्धन गर्न ‘मेड इन सुदूरपश्चिम’ अभियान सञ्चालन गर्नेलगायत प्रतिबद्धताहरू ओझाले आफ्नो घोषणापत्रमा राखेका छन्।

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि यही २८ भदौमा निर्वाचन हुँदै छ। संघका पूर्वमहासचिव रूपेश स्वाँरले पनि यसअघि नै आफ्नो प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
 

छुटाउनुभयो की ?