
सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणले साढे ६ महिनाको अवधिमा कञ्चनपुरको सीमाबाट आठ कराेडभन्दा बढीका सामान र तस्करीमा प्रयोग भएका सवारीसाधन बरामद गरेको छ।
सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणको तथ्यांकअनुसार गत ०८१ फागुनदेखि १५ भदौ ०८२ सम्म आठ करोड दुई लाख ५७ हजार ६२५ रुपैयाँबराबरका अवैध सामान बरामद गरेको हो।
गत फागुनमा एक करोड ३९ लाख ६० हजार २६१, चैतमा ९७ लाख तीन हजार ८१०, वैशाखमा ७९ लाख ३१ हजार १८३, जेठमा ५० लाख २९ हजार ६१६, असारमा ६८ लाख १३ हजार ४९५ रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ। यसैगरी, साउनमा ९१ लाख ३३ हजार ३७० रुपैयाँबराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीले गड्डाचौकी, ब्रह्मदेव, दोधाराचाँदनी, बेलडाँडी, बेलौरी, पुनर्वाससहितका विभिन्न नाकाहरूबाट अवैध सामान र उक्त सामान तस्करीमा प्रयोग भएका सवारीसाधन बरामद गरेर भन्सार चलान गरेको हो। सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र भट्टले भारतबाट भित्रिने जिल्लाका विभिन्न स्थानबाट बरामद अवैध सामान भन्सार चलान गरिएको बताए।