मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
Invalid date format ११:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रोल्पा सहरी खानेपानी उपभोक्ता समितिमा माओवादीको प्यानल नै विजयी

रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा कांग्रेस–एमाले गठबन्धन पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४६:oo

रोल्पामा खानेपानी निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । जिल्ला सदरमुकाम लिबाङ तथा आसपासका क्षेत्रहरू रेउघा, थलिबाङ, मेबाङलगायतमा खानेपानी पुर्‍याइरहेको रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको शनिबार राति सम्पन्न मतगणनामा सुमन विक नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको हो ।

कांग्रेस–एमाले गठबन्धनबाट अध्यक्षका उम्मेदवार रहेका रामबहादुर बुढाथोकीलाई ६८ मतको अन्तरमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार रहेका सुमन विकले जित हासिल गरेका हुन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार सुमनले ४०५ मत र निकटतम प्रतिद्वन्द्वी रामबहादुरले ३३७ मत प्राप्त गरेका छन् । जम्मा ९१० जना मतदाता रहेकोमा यस समितिमा ७९२ मत खसेको थियो । जसमा २३ मत बदर भएको निर्वाचन समिति संयोजक अधिवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिए ।

त्यस्तै, माओवादी केन्द्रनिकट प्यानलबाटै उपाध्यक्षमा रेवती आचार्य, महासचिवमा अशोक आचार्य, सचिवमा रूपसरा घर्तीमगर र कोषाध्यक्षमा शिला विक निर्वाचित भएका छन् । सदस्यहरूमा सोही प्यानलका गीता घर्ती, दुर्गाप्रसाद शर्मा, दीपसरा बुढामगर, देवबहादुर कवर, रामी दमाईं र रेशमबहादुर पुन विजयी भएका छन् ।

शनिबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो । शनिबार राति करिब १२ बजे मतगणना सकिएको थियो । विजयी घोषणा भएसँगै आइतबार बिहान विजयी टोलीले मतदाताको टोलटोलमा पुगेर धन्यवाद व्यक्त गरेकाे छ । ‘मतदाताको अपेक्षालाई पूरा गर्ने मेरो नेतृत्वको निर्वाचित कार्यसमितिले प्रतिज्ञा गरेको छ,’ मतदातासँगको भेटमा अध्यक्ष सुमनले भने, ‘हामी उपभोक्ताको हितका निम्ति काम गर्छौँ, तपाईंहरूले खबरदारी र सहयोग दुवै गर्नुस् ।’ उनले निर्वाचन प्रक्रियामा राजनीतिक प्रतिस्पर्धा भए पनि अब खानेपानीको सवालमा पूर्वाग्रहपूर्ण राजनीतिलाई त्यागेर साझा उद्देश्यप्रति केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाए । उनले सहयोग गर्ने मतदाता, राजनीतिक दल, संघसंस्था सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।

छुटाउनुभयो की ?