मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १३ शुक्रबार
  • Friday, 29 August, 2025
मार्टिन ग्रिफिथ्स
२o८२ भदौ १३ शुक्रबार ११:१८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

साहस गुमाएको संयुक्त राष्ट्र संघ

Read Time : > 2 मिनेट
मार्टिन ग्रिफिथ्स
नयाँ पत्रिका
२o८२ भदौ १३ शुक्रबार ११:१८:oo

संयुक्त राष्ट्र संघले साहस गर्‍यो भने यससँग प्यालेस्टाइन, युक्रेन र सुडानमा जीवन बचाउने शक्ति र वैधता छ 

अर्को महिना संयुक्त राष्ट्र संघ स्थापना भएको ८० वर्ष पुग्दै छ । तर, यति लामो यात्रा तय गरिसकेको संगठन अहिले संकटमा छ । दशकौँयताकै सबैभन्दा खराब भूराजनीतिक दृश्यमाझ यो महान् संस्था बजेटको चरम अभाव झेलिरहेको छ । युक्रेन, प्यालेस्टाइन, सुडान र अन्य भागमा द्वन्द्व भड्किरहेको समयमा संघको प्रासंगिकतामै प्रश्न उठ्न थालेको छ । मानवीय भूमिका अझै प्रभावकारी देखिए पनि संघ उल्लिखित द्वन्द्व अन्त्य गर्ने तथा शान्ति स्थापना गर्ने आफ्नो प्राथमिक उद्देश्यमा भने किनारामा धकेलिएको छ ।

यसमा संयुक्त राष्ट्र संघका संरचनात्मक कमजोरीलाई दोष देखाएर पन्छिन सजिलो हुन्छ । सुरक्षा परिषद्का पाँच स्थायी सदस्य चीन, फ्रान्स, रुस, बेलायत र अमेरिकाले आफूलाई मन नपरेको प्रस्तावलाई भिटो लगाएर निस्तेज बनाउने कुराले सुधारमा बाधा पुर्‍याएकै छ । त्यसबाहेक महासभाको सापेक्षिक कमजोरी र संस्थागत खण्डीकरण अन्य समस्या हुन् । तर, उल्लिखित समस्या संघ स्थापनादेखि नै कायम छन् । विगतमा ती कमजोरीले संघलाई महान् कार्यहरू कार्यान्वयन गर्न रोकेका थिएनन् ।

संयुक्त रांष्ट्र संघको प्रासंगिकतामा उठेको पछिल्लो प्रश्न यसको सबैभन्दा बहुमूल्य स्रोतको पतनका कारण उत्पन्न भएको हो । त्यो हो यसको साहस । नेतृत्व गर्ने साहस, युद्धरत पक्षलाई मिलाउने साहस, दण्डहीनताविरुद्ध लड्ने र विधिको शासन लागू गर्ने उपायहरूको खोजी गर्ने साहस, असफल भए पनि विकृति रोक्न प्रयास गर्ने साहस । तर, पछिल्लो समय संगठनमा खतरा नमोल्ने संस्कृति भित्रिएको छ । राजनीतिक गतिरोधका कारण जडता र पन्छिने संस्कृति विकास भएको छ ।

बजेट अभावका बाबजुद संयुक्त राष्ट्र संघले आफ्ना राजनीतिक तथा सहायता मिसनमार्फत विश्वभरि महत्वपूर्ण काम गरिरहेको छ भन्ने कुरामा कुनै शंका छैन । तर, शान्ति स्थापनामा किनारामा धकेलिएसँगै संयुक्त राष्ट्र संघ रोगको कारण सम्बोधन गर्नेभन्दा लक्षणको मात्र उपचार गर्ने डाक्टर बनेको छ । यो संयुक्त राष्ट्र संघको नैतिकतामा आफ्नो जीवन समर्पित गरेका हामीजस्ता पूर्वकर्मचारीका लागि पीडादायी छ भने द्वन्द्व क्षेत्रमा फसेका मानिसका लागि घातक छ ।

संयुक्त राष्ट्र संघका महासचिवसँग द्वन्द्वको मध्यस्थता गर्ने वा द्वन्द्व कम गर्ने महत्वपूर्ण शक्ति हुन्छ । संयुक्त राष्ट्र संघ र महासचिव मध्यस्थताका लागि अगाडि आए त्यसको ठुलो वैधतासमेत रहन्छ । संयुक्त राष्ट्र संघको नेतृत्वविना अझै पनि द्वन्द्वको अन्तिम सम्झौता सम्भव हुन कठिन छ । यस्तो सम्भावना भएको संगठनको तर्फबाट थप शान्ति स्थापनाका प्रयास भएको देखिँदैन । सम्भवत: संगठनको गति हराएको छ । त्यसैले अबका दिनमा नेतृत्वले साहस, ऊर्जा, दृढता र सम्पूर्ण संगठनलाई विशिष्ट लक्ष्यका लागि परिचालन गर्ने इच्छाशक्तिजस्ता गुण बढाउन ध्यान दिनुपर्छ ।

सचिवालयले शान्ति स्थापना क्षमता भएका प्रतिभालाई प्रणालीमा भित्र्याउन ध्यान दिनुपर्छ । त्यस्ता व्यक्तिको द्रुत तैनाथी र तिनले अपेक्षाकृत प्रदर्शन नगरेमा तिनीहरूलाई त्याग्नसमेत इच्छुक हुनुपर्छ । त्यस्तै, यसले एजेन्डा तय गरेर प्रमुख पक्षलाई एक ठाउँमा ल्याउन सक्ने विशेष दूतहरूको परिचालन बढाउनुपर्छ । आवश्यक परे शान्ति स्थापना गर्न अनौपचारिक रूपमा संस्थासँग साझेदारीको पनि प्रयोग गर्नुपर्छ । यो नयाँ अवधारणा होइन, तथापि यसको प्रयोग पछिल्लो समय हराएको छ ।

शान्ति स्थापना गर्ने टोलीको क्षमतामा बढी ध्यान दिनुपर्छ । प्राविधिक मध्यस्थता सीप र प्रशिक्षणमा अहिलेको भन्दा धेरै बढी लगानी आवश्यक छ । त्यस्तै जटिल, विकसित परिस्थितिमा छिटो प्रतिक्रिया दिन मुख्यालय र फिल्डमा व्यापक समर्थन चाहिन्छ । अहिलेको विश्वमा प्रभावकारी मध्यस्थताका लागि तीन कुरा आवश्यक पर्छ– संयुक्त राष्ट्र संघको वैधानिक शक्ति र विश्वव्यापी अनुभव, मध्यस्थकर्ताको रूपमा संलग्न सरकारको लाभ, र प्रभावित समुदायको आवाज उठाउन सक्ने स्वतन्त्र संस्थाहरूको अनुभव । संयुक्त राष्ट्र संघले यस त्रिकोणमा आफ्नो भूमिका खेल्न ध्यान दिनुपर्छ । यसले आगामी दशकमा द्वन्द्व समाधान गर्ने निकायको रूपमा आफ्नो मौलिक उद्देश्य के हो भनेर स्पष्ट दृष्टिकोण पनि तय गर्नुपर्छ ।

वर्तमान महासचिव एन्टोनियो गुटेरसद्वारा सुरु भएको ‘युएन ८० पहल’ले संगठनको प्रणालीव्यापी दक्षता र प्रभावकारिता सुधार गर्ने लक्ष्य लिएको छ । यो धेरै स्वागतयोग्य कदम हो । बजेट अभावलाई ध्यानमा राख्दै संघका एजेन्सीको प्रस्तावित ‘मर्जर’ र कर्मचारी कटौती बुझ्न सकिने परिघटना हो । तर, यसलाई अझै पनि संयुक्त राष्ट्र संघको भावी भूमिकाको सकारात्मक दृष्टिकोणभित्र प्रस्तुत गर्न सकिएको छैन । नयाँ परिस्थितिमा संघका संस्थापकको वाचा गरेअनुरूपको संयुक्त राष्ट्र संघ निर्माण गर्नेबारे सचिवालय र सदस्य राष्ट्रबिच अझै वास्तविक बहस हुन सकेको छैन ।

संयुक्त राष्ट्र संघमा धेरै प्रतिभाशाली मानिस छन् । यो अझै पनि विश्वका लागि अपरिहार्य संस्था हो । अहिलेका लागि यसको एक मात्र अक्षम्य अपराध यसको निष्क्रियता हो । यसबाट सबैभन्दा कमजोर मानिसलाई नकारात्मक प्रभाव परिरहेको छ । हामी तिनीहरूलाई निराश बनाइराख्न सक्दैनौँ । यो महान् विश्वव्यापी परियोजनाले आफ्नो वार्षिकोत्सव मनाउन योग्य बनाउने हो भने फेरि एकपटक आफूलाई सान्दर्भिक बनाउने साहस गर्नुपर्छ । त्यसका लागि अब ढिलो गर्न हुँदैन । 

(मार्टिन ‘मानवीय मामिला’का संयुक्त राष्ट्र संघका पूर्वउप–महासचिव तथा आपत्कालीन राहत संयोजक थिए ।)
द गार्जियनबाट