
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समाजवादतर्फ अगाडि बढ्ने ढोकामा दलाल पुँजीवाद रहेकाले यसबाट मुक्त हुन दलहरूलाई दलाल पुँजीवादसँग लड्नसक्ने बनाउनुपर्ने बताएका छन् । सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा दलहरूलाई दलाल पुँजीवादसँग लड्न सक्ने बनाए सबै एक ठाउँमा आउन सकिने उनको भनाइ छ ।
उनले भने, ‘यस किसिमको वहस नयाँ पार्टी बनाउन होइन । दलहरू फुटाउन खोजेको पनि होइन, जोड्न खोजेको हो ।’ उनले नेपालमा घुस नखाने कम्युनिष्ट पार्टी आवश्यक भएको पनि बताए । उनले वर्तमान राजनीतिमा देखिएको समस्याबारे ६ साउनदेखि सुरू भएकोे बहस बुटवलमा आएपछि थप गति लिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा दिग्भ्रम र संकट रहेको चर्चा गर्दै यसको जवाफ खोज्नुपर्ने बताएका छन् । उनले दिग्भ्रमबाट दिग्दर्शन चाहिएको बताए । मुलुकको अर्थतन्त्र जनताको हातमा नफर्किएको र मुठ्ठीभरको हातमा अर्थतन्त्र रहेका कारण अर्थतन्त्र रूपान्तरण नभएको उनको भनाइ छ । गणतन्त्रपछि पनि जनताका अधिकार सुनिश्चित नभएको तथा जनताका प्रतिनिधिहरू रूपान्तरण हुन नसकेको धारणा पनि उनले राखे ।
त्यस्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनताका लागि पार्टी बनाउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए । मुलुकका लागि स्पष्ट मार्गचित्र चाहिएको र त्यो निर्माण गर्न छलफल गर्नुपर्ने उनले बताए ।
कार्यक्रमको विषयमाथि प्रकाश पार्दै सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष बसन्त सिले केन्द्रदेखि तल्लो तहसम्म भ्रष्टाचारले गर्दा राजनीतिप्रति नै घृणा पैदा भएकाले निकास खोज्नुपर्ने बेला आएको बताए । उनले जनतामा देखिएको निराशा र वर्तमान राजनीतिको संकटको निकासबारे युवा नेताहरूको सहभागितामा अन्तरक्रियाले दिशानिर्देशन गर्ने आशा व्यक्त गरे ।