मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
२o८२ भदौ ११ बुधबार २o:o४:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट

सिँजा गाउँपालिका कार्यालयमा वडाध्यक्षहरूले नै गरे तालाबन्दी

बजेट संसोधन नभएसम्म तालाबन्दी जारी रहने चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार २o:o४:oo

सिंजा गाउँपालिका कार्यालयमा वडाध्यक्षहरूले नै तालाबन्दी गरेका छन् । आफूहरूको सहमतिविनै आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रमसहित बजेट बहुमतको दम्भमा पारित गरेको भन्दै उनीहरूले कार्यालयमा तालाबन्दी गरेका हुन् । यो विवाद एक महिनादेखि चलिरहे पनि बुधबार भने वडाध्यक्षहरू तालबन्दीमै उत्रिएका हुन् ।

६ वटा वडा रहेको सिँजा गाउँपालिकामा ४ वटा वडाध्यक्ष बजेटको विपक्षमा छन् । पालिकामा जनप्रतिनिधिबिचको विवादभन्दा पनि माओवादीबाट निर्वाचित जनप्रतिनिधि एकातिर र इतरका सबै दलका जनप्रतिनिधि अर्कोतिर उभिएका छन् । बजेट पारित गर्दा दुवै पक्षका १४÷१४ जना मात्रै उपस्थित थिए ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले आफू बजेटको पक्षमा उभिएको भनेपछि बजेट पारित भएको थियो । अध्यक्ष धिताल पनि माओवादीबाट निर्वाचित हुन् । सिँजा गाउँपालिकाको गाउँसभामा १८ जना माओवादी र १६ जना अन्य पार्टीका जनप्रतिनिधि छन् ।

गाउँपालिकाले आर्थिक वर्ष ०८२÷०८३ को बजेट माओवादीका कार्यकर्ता केन्द्रित हुनेगरी ल्याएको भन्दै चारजना वडाध्यक्षसहितको टोलीले असहमति जनाएको छ । यो असहमतिसहित गाउँपालिकामा विवाद चर्किदै आएको एक महिनाभन्दा बढी भयो । सहमति हुन सकेको छैन । गाउँपालिकामा विवाद चुलिँदै जाँदा सार्वजनिक सेवा समेत प्रभावित भएको छ । 

दैनिकजसो आन्दोलन हुन थालेपछि उपाध्यक्ष सितली रोकायाको संयोजकत्वमा वार्ता समिति बनेको थियो । उनीसँगै पालिकाका प्रवक्ता तथा सिँजा–२ का वडाध्यक्ष तिर्थ वड र ३ का वडाध्यक्ष सुरतबहादुर रावत सदस्य छन् ।

९ भदौमा आन्दोलनरत पक्ष र वार्ता टोलीबिच बसेको बैठकले विवाद समाधान गर्न नसकेपछि बुधबार पालिकामा ताला लागेको छ । जसका कारण कामकाज प्रभावित बनेको छ । बिहान १० बजेदेखि नै कार्यालयमा ताला लागेकोले नियमित काम प्रभावित भएको छ । ३१ असारमा पारित बजेट संशोधन नहुँदासम्म ताला नखोल्ने आन्दोलनरत पक्षले चेतावनी दिएका छन् ।

आन्दोलनरत पक्षले बजेटमा बहुमतको दम्भ देखाएको, बजेटको व्यवस्थापन हुन नसकेको, कार्यकर्ता पोस्नेगरी बजेट ल्याएको, टोलस्तरीय बजेटको व्यवस्था नभएको र सबै तहका शिक्षक र स्वास्थ्यकर्मीको व्यवस्थापन हुन नसक्दा प्रभावकारी रुपमा सेवा प्रवाह हुन नसकेको आरोप लगाएका छन् । उत्पादनमुलक बजेटको मागसहित आफूहरू आन्दोलनमा उत्रिएको सिँजा–६ का वडाध्यक्ष लालबहादुर बुढाले बताए । ‘पहिले सहमतिअनुसार नै बजेट बनेको थियो,’ वडाध्यक्ष बुढाले भने, ‘पछि माओवादी नेताकार्यकर्ता बसेर आफू अनुकुलको कार्यकर्तालाई फाइदा पुग्ने बजेट ल्याए । अनि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो ।’

‘बजेट बनाउनुअघि नयाँ सडक खन्दा पालिकाकै डोजर प्रयोग गर्ने, डोजरमा चाहिने तेलको प्रबन्ध गर्नेगरी बजेट ल्याउने सहमति थियो,’ वडाध्यक्ष बुढाले, भने । आन्दोलनरत पक्षले नेपाली गाउँपालिका समितिका सभापति गोविन्द शर्माको नेतृत्वमा पाँच सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

गाउँपालिका अध्यक्ष धितालले भने, ‘जनपक्षिय नीति तथा कार्यक्रम र बजेट गाउँ सभाबाट पारित भएको छ । पारित बजेट अब संशोधन हुँदैन । सबै टुंगिएको विषयमा विवादमा ल्याउन आवश्यक छैन ।’ १५ लाख बजेटको सडकका विषयमा मात्रै उनीहरुको असहमति रहेको उनको भनाइ छ ।