
गएरातिको अविरल वर्षाले मंगलबार बिहान संखुवासभाको खाँदबारी नगरपालिका– ४, सेकाहा च्यानडाँडामा एक घर भत्काएको छ।
स्थानीय दोर्ची लामाको जस्तापाताले छाएको ढुंगामाटोको दुईतले कच्ची घर पहिरोले भत्काएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। पहिरोले घर भत्काएर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने पहिरोबाट करिब पाँच लाख रुपैयाँको क्षति भएको प्रारम्भिक मूल्यांकन गरिएको प्रहरी निरीक्षक लामिछानेले बताए।
उनको अनुसार उक्त घर केही समय अगाडिदेखि नै जोखिममा रहेको र मंगलबार बिहानको समयमा पहिरोले भत्काएको हो। पहिरोले मानवीय र पशुचौपयाको भने क्षति गरेको छैन।
नेपाल प्रहरी, सशस्त्र र स्थानीयको संयुक्त टोलीले पहिरो पन्छाएका थिए। घरमुनि कोशी–ल्हासा राजमार्ग रहेको हुँदा सडक निर्माण गर्ने क्रममा घरमा असर पुगेको स्थानीयको भनाइ छ। अहिले कोशी–ल्हासा राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकको काम भइरहेको छ।
लामाको घरमुनि सडकको वाल लगाउने काम भइरहेको र एक्स्काभेटरले ढुंगा फुटाउँदा घरसम्म जमिन चिरा–चिरा परेको पीडितको गुनासो छ। लामा सो क्षेत्रका धर्मगुरु पुरोहित हुन्। उनी स्थानीय बासिन्दाले घर बनाई पुरोहित कर्मकाण्डका लागि राखेका व्यक्ति हुन्।