
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, सामाजिक सेवा प्रभागबाट आयोजना गरिएको बृहत रक्तदान कार्यक्रमअन्तर्गत करिब १२ हजार पिन्ट रगत संकलन भएको छ । ६ देखि ९ भदौसम्म आयोजना गरिएको रक्तदान कार्यक्रममा ११ हजार ९१६ पिन्ट रगत संकलन गरिएको हो ।
दादी प्रकाशमणिजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा काठमाडौं उपत्यका लगायथ १५ जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
नेपालमा बिरामीहरुका लागि रगत अभाव भइरहेका बेला ब्रम्हाकुमारीजले बृहत अभियान सञ्चालन गरेर रगत संकलन गरेको सेवा केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
विज्ञप्तिअनुसार, काठमाडौं उपत्यकामा सबैभन्दा बढी चार हजार ४४५ पिन्ट रगत संकलन भएको छ । त्यस्तै विराटनगरमा दुई हजार ८३० पिन्ट, नारायणगढमा ९७० पिन्ट, पोखरामा ५६४ पिन्ट, नेपालगञ्जमा ५६२ पिन्ट रगत संकलन गरिएको थियो । त्यस्तै, बुटवलमा ५५३ पिन्ट, वीरगञ्जमा ५४२ पिन्ट, जनकपुरमा ३५४ पिन्ट, दांगमा २८३ पिन्ट सगत संकलन गरिएको केन्द्रका उपाध्यक्ष रामसिंह ऐरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।