
शिक्षा विधेयक संशोधनको माग गर्दै मधेश प्रदेशभरका निजी विद्यालय सञ्चालकहरूले विरोध प्रदर्शन गरेका छन्।
निजी विद्यालयहरूको छाता संगठन प्याब्सन, एन–प्याब्सन र हिसानअन्तर्गतका निजी विद्यालय सञ्चालकहरूले आज जनकपुरधामस्थित मधेश प्रदेश सभाअगाडि जम्मा भई विरोध प्रदर्शन गरेका हुन्।
प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहको नेतृत्वमा आठवटै जिल्लाबाट पुगेका विद्यालय सञ्चालकहरूले विधेयकले निजी विद्यालयहरूको अस्तित्व संकटमा पार्ने भन्दै तत्काल शिक्षा विधेयक संशोधन गर्न माग गरेका छन्।
शिक्षा विधेयकमा निजी विद्यालयहरूले १० देखि १५ प्रतिशत विद्यार्थीलाई पूर्ण रूपमा निःशुल्क छात्रावृत्ति दिनुपर्ने, कम्पनी रजिस्ट्रारमा दर्ता भएका विद्यालयलाई गैरनाफामूलक संस्थामा परिवर्तन गर्नुपर्नेजस्ता व्यवस्था गरेको छ। तर, निजी विद्यालय सञ्चालकहरूले करोडौँ लगानी गरेपछि त्यसको मुनाफा पाउनुपर्ने तर्क गर्दै विधेयकको विरोधमा उत्रेका हुन्।
प्याब्सन मधेश प्रदेशका अध्यक्ष साहले विधेयकका केही प्रावधानले निजी विद्यालयलाई ठप्प पार्ने खतरा रहेको भन्दै ती प्रावधान खारेज वा परिमार्जन गर्नुपर्ने बताए। विद्यालयहरूको दिगोपन, शिक्षक–कर्मचारी हक अधिकार, पाठ्यक्रम व्यवस्थापन र शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर विधेयक पुनर्लेखन गर्नुपर्ने उनको भनाइ थियो।
प्याब्सन मधेश प्रदेशका सल्लाहकार महेश मण्डलले भने, ‘निजी विद्यालय सञ्चालकहरू करोडौँ रुपैयाँ बैंकसँग ऋण लिएर विद्यालयमा लगानी गरेका छन्। यस्तो अवस्थामा केही मुनाफा लिएन भने विद्यालय सञ्चालकहरू नै पलायन हुने अवस्थामा पुग्छन्।’ सरकारले शिक्षा विधेयक संशोधन नगरे कडा आन्दोलन गर्ने उनले चेतावनीसमेत दिए।