
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन गर्दै २२औँ संस्करणको स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।
मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन्। पिपल्स च्वाइस विधाका विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आइएमई खल्तीमा प्राप्त मतका आधारमा हुनेछ।
५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमई खल्तीमा भोटिङ आइतबार नै सुरु भइसकेको छ। यसका लागि आइतबार नै मञ्च र आइएमई खल्तीबिच भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ। मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमई खल्तीका चिफ कमर्सियल अफिसर आसिस गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइस अवार्डमा खेलाडी मनोनयन उनीहरूको प्रदर्शनसँगै मिडिया कभरेज, खेलाडीको क्रेजलाई विशेष ध्यानमा राखेर गरिएको हो। स्पोर्टस् अवार्ड आयोजनाको एक महिनाअघि यो विधाको घोषणा गर्ने परम्परा छ।
यसैगरी, सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र नेपाल खेलकुद पत्रकार (मञ्च)का सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ।
यो विधाका विजेताले पल्सर मोटरबाइक जित्नेछ। गत वर्ष सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन्।