
गणतन्त्र इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ।
नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानीपोखरीमा आयोजित एक विशेष समारोहबिच झन्डोत्तोलन सम्पन्न भएको हो।
इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपाल तथा गणतन्त्र इन्डोनेसियाबिच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताए।
उनले दुई देशबिचको आपसी व्यापार तथा अनुभव आदान–प्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकाले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्ने कुरामा जोड दिए। नेपाल र गणतन्त्र इन्डोनेसियाबिच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
नेपालका लागि इन्डोनेसियाको राजदूतको आवासीय कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ। इन्डोनेसिया आसियान राष्ट्रहरूमध्येको ठुलो अर्थतन्त्र भएको मुलुक हो । नेपाल र इन्डोनेसियाबिचको व्यापारको परिमाण पनि ठुलो रहेको छ।
दुई देशबिच पर्यटनलगायत आयात निर्यात व्यापारका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् । झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।