
संखुवासभाको छुट्टाछुट्टै स्थानमा भएका नाबालिका बलात्कार आरोपमा पक्राउ परेका चारजना अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन्।
जिल्ला अदालत संखुवासभाले नाबालिकालाई बलात्कार गरेको आरोपमा एक साताभित्र चारजनालाई पुर्पक्षका लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकृत प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।
उनको अनुसार मकालु गाउँपालिका–३, हेदाङना मानेडाँडाका स्थानीय ३७ वर्षीय धर्मबहादुर गजमेरले गत वैशाखमा १६ वर्षीया नाबालिकालाई साँझको समयमा एकान्त बाटोमा छेकी धाकधम्की दिई जबर्जस्ती गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनलाई शुक्रबार जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको छ। त्यसैगरी, चैनपुर नगरपालिका–३ का ३१ वर्षीय रामबहादुर दाहाललाई बलात्कारको आरोपमा जिल्ला अदालत संखुवासभाको आदेशअनुसार मंगलबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो। दाहालले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको पीडितको उजुरीको आधारमा गत ३ साउनमा पक्राउ गरिएको थियो।
यसैगरी, सुनसरी इनरुवा नगरपालिका–१०, जालपापुरका २२ वर्षीय साबिर मियाँ र संखुवासभा सिलिचोङ गाउँपालिका–३ का २५ वर्षीय विकास राईलाई नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बुधबार कारागार चलान गरिएको हो । मियाँले गत २६ असारदेखि बेपत्ता भएकी सिन्धुलीमाडीकी १६ वर्षीया किशोरीलाई ललाइफकाई विभिन्न बहाना बनाई पानमा नसालु पदार्थ मिसाएर खुवाएर अचेत अवस्थामा बलात्कार गरेको आरोप छ ।
पीडितपक्षको जाहेरीका आधारमा उनलाई २ साउनमा पक्राउ गरिएको थियो। त्यस्तै, विकास राईले गत २ साउनमा संखुवासभाकी १३ वर्षीया बालिकालाई धाकधम्की दिई जबर्जस्ती करणी गरेको आरोप छ। पीडितपक्षको उजुरीका आधारमा ४ साउनमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।