मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३१ शनिबार
  • Saturday, 16 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ३१ शनिबार १९:१३:oo
Read Time : > 1 मिनेट
समाचार

एकीकृत समाजवादीनिकट युवा संघको विवाद उत्कर्षमा, समानान्तर कमिटी घाेषणाकाे तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ३१ शनिबार १९:१३:oo

एकीकृत समाजवादीनिकट युवा संघ नेपालमा विवाद उत्कर्षमा पुगेको छ । संघमा पार्टी नेतृत्वले मनोमानी हस्तक्षेप गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणाको तयारी गरेको हो । 

पार्टी अध्यक्ष माधवकुमार नेपालले मनोमानी हस्तक्षेप गरेको जनाउँदै सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालनिकट युवाहरूले समानान्तर कमिटी घोषणा गर्न लागेका हुन् । युवा संघमा देखिएको विवाद समाधान नगरी पार्टी नेतृत्वले मनोमानी गर्दै आएको असन्तुष्ट पक्षको भनाइ छ । 

असन्तुष्ट पक्षधरको नेतृत्व गरिरहेका संजीव राईले आफूहरूले पटक–पटक निर्णय सच्याउन माग गर्दैआएको बताए । असन्तुष्ट पक्षले विज्ञप्ती निकालेर अबको २४ घण्टाभित्रमा आफूहरूको माग सुनुवाइ नभए समानान्तर कमिटी घोषणा गर्ने चेतावनी दिएका छन् । आफूहरूको माग सुनुवाइ गरेर समस्या समाधानमा लाग्न उनीहरूले आग्रह गरेका छन् । 

संघका इन्चार्ज लक्ष्मण केसीले मनोमानी गर्दै संगठनलाई ध्वस्त बनाइसकेको आरोप समेत असन्तुष्ट पक्षधरको रहेको छ । ‘इन्चार्जले मनोमानी ढंगबाट नेतृत्व तोक्ने, कार्यदल बनाउने र कथित कार्यदलको नाममा राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गर्ने काम गरेका छन् । जसको कारण विगत चार वर्ष अगाडि दक्षिणपन्थ अवसरवादविरुद्ध विद्रोहको नेतृत्व गरेका युवा संघ नेपालका पदाधिकारी, स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीका सदस्य, जो पार्टी संगठन र युवा संघको काममा निरन्तर अविचलित भै खडा भैरहेको छ । यसरी जो कोहिको राजनीतिक इतिहास र आत्मसम्मानमा चोट पु¥याउदै, संघको विधानको विरुद्ध ९औं राष्ट्रिय महाधिवेशनको नाममा जारी भएको कथित सर्कुलर र इन्चार्जको अकर्मण्यताप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गर्दछौं,’ असन्तुष्ट पक्षले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

रोशन थापालाई संयोजक तोकेर कमिटी विस्तार गरेको भन्दै सञ्जीव राई पक्ष असन्तुष्ट बनेको छ । राई पक्षले यसअघि नै युवा संघको काठमाडौँ भेला गर्दै विवाद समाधानका लागि आग्रह गरेको थियो ।  

राईनिकट एक नेताका अनुसार २४ घण्टे अल्टिमेटमसहितको पत्र कार्यालयमा बुझाइने छ । ‘यसअघिको अन्तर पार्टी निर्देशन सच्याउन माग गर्दै हामी पत्र बुझाउँदैछौँ,’ ती नेता भन्छन्, ‘नभए आइतबार नयाँ कमिटीको घोषणा हुन्छ।’ 

राईनिकट मानिने युवा संघका तत्कालिन उपमहासचिव निर्भिक खनाल, सचिवहरू बाबुराजा श्रेष्ठ, अनिल बोगटी, जितबहादुर हमाल, खड्क आचार्य, भेषराज शाह लगायतकाले समानान्तर कमिटी घोषणा गर्दै अगाडि बढ्ने बताएका छन् । राईकै नेतृत्वमा समानान्तर कमिटी गठन गर्ने तयारी छ ।