
तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा ललितपुरको चर्च ब्वाइज क्लब पुगेको छ । सदरमुकाम फुङलिङमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइजले सुनसरीको द योङ ब्रदर्स क्लबलाई ट्राइबेकरमा ३–१ ले पराजित गर्दै उपाधिनजिकको यात्रा तय गरेको हो।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक गोल गरेपछि ट्राइबेकरमा पुगेको थियो। खेलको दोस्रो हापको ७७ मिनेटमा द योङ ब्रदर्स सुनसरीले अप्रत्यशित रूपमा १ गोल लागेपछि १–० को लिएको अग्रता थियो । तर, आक्रामक रूपमा उत्रिएको चर्च ब्याइजले खेलको निर्धारित समय सकिएर थप ५ मिनेटको इन्जुरी समयको तीन मिनेट अर्थात् ९३ औँ मिनेटमा सुमन श्रेष्ठले १ गोल गर्दै १–१ गोल गर्दै बराबरमा पुगेको थियो । अन्ततः खेलको अन्तमा खेल ट्राइबेकर पुगेर ३–१ गोल गर्दै फाइनलको यात्रा तय गरेको हो ।
गएको २४ साउनदेखि सुरु भएको प्रतियोगितामा सुनसरीले उदटन खेलमै आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । उता, चर्च ब्वाइजले भारतको लिजेन्ड फुटबल एकेडेमी, सिलिगुडीलाई १–० को कठिन जितसहित पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।
यसैबिच, भोलि दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेस युवा क्लब आमनेसामने हुनेछन् । सिराहाले पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो जित दिँदै सेमिफाइनलमा प्रवेश गरेको हो । झापाले पोखराको सहारा क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।
आठ टोली सहभागी रहेको यो प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल ३१ साउन सम्पन्न हुने कार्यक्रम छ । विजेता टोलीले नगद ७ लाख २ हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ तीन लाख ५० हजार ८२ रुपैयाँसहित पुरस्कार प्राप्त गर्नेछ ।
साथै, प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजक समितिले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए ।