
काजखस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनाले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा काठमाडौं स्पाइकर्सबाट खेल्ने भएकी छिन्।
बुधबार काठमाडौं स्पाइकर्सले दोस्रो विदेशी खेलाडीको रूपमा २९ वर्षीया अलेनाको नाम घोषणा गरेको हो। अलेनाले काजखस्तानको भिसी कौन्यास र अरू अस्तानाबाट खेलिसकेकी छिन्। उनले एभिसी महिला च्याम्पियन्स लिगसमेत खेलिसकेकी छिन्।
यसअघि काठमाडौंले बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ। दुई विदेशी खेलाडी नकोभा र अलेनालाई अनुबन्ध गरेपछि काठमाडौं स्पाइकर्सले टिम अझ सन्तुलित र मजबुत भएको विश्वास लिएको छ। पहिलो सिजनमा काठमाडौंमा टर्की र बुल्गेरियका विदेशी खेलाडीले खेलेका थिए।
एभरेस्ट महिला भलिबल लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ। तेस्रो तथा अन्तिम विदेशी खेलाडी पनि छिट्टै घोषणा गर्ने काठमाडौंले जनाएको छ।
पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौं स्पाइकर्सले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ। दोस्रो संस्करणका लागि काठमाडौंले लोकबहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन्।
दोस्रो सिजन आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदै छ।