मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
Invalid date format १६:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला लिग छनोटमा १४ टिम, विभागीय टिमसँग खेल्न पाँच टिम छनोट हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५५:oo

राष्ट्रिय महिला लिग छनोटको लागि १४ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता बिहीबारबाट सुरु हुने जानकारी गरायो। उद्घाटन खेलमा काठमाडौंको छहारी युवा क्लब र भक्तपुरको एफसी रियलले प्रतिस्पर्धा गर्नेछन्।

एन्फा प्रवक्ता सुरेश शाहले १४ टिमबाट ५ टिम महिला लिगको लागि छनोट हुने बताए। उनका अनुसार राष्ट्रिय लिगमा छनोट भएका पाँच र विभागीय तीन टिमबिच फाइनल चरणका खेल हुनेछन्। प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ।

छनोट चरणमा सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका संकटा क्लब, चर्च ब्वाइज र न्युरोड टिम (एनआरटी) पनि सहभागी भएका छन्। संकटा दोस्रोपटक छनोट चरण खेल्दा एनआरटी र चर्च ब्वाइजको पहिलो सहभागिता हो। यस्तै, नेपाल सुपर लिग (एनएसएल) खेलेका झापा एफसी र बुटवल लुम्बिनी एफसी पनि छनोटमा सामेल हुनेछन्।

छनोट खेल्ने अन्य टोलीमा स्टुडेन्ट फुटबल क्लब काठमाडौं, सिन्धुपाल्चोकको सिन्धुपाल्चोक एफसी, कास्कीको आरएस रिसोर्ट एन्डबिच फुटबल, राप्ती फुटबल क्लब काठमाडौं, कास्कीकै एनबिएम पोखरा गर्स एफसी, रौतहटको नेपाल खेलकुद क्लब, कैलालीको लम्की फुटबल तथा ट्रेनिङ सेन्टर, भक्तपुरको एफसी रियले र काठमाडौंको छहारी युवा क्लब रहेका छन्। एफसी रियल नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी सन्तोष साहुखलले सञ्चालन गरेको क्लब हो।

एन्फाका अनुसार सहभागी १४ टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ। हरेक टिमले आफ्नो समूहमा ६ वटा खेलहरू खेल्नेछन्। दुवै समूहको विजेता र उपविजेता टिमहरू स्वतः एन्फा महिला लिगको लागि छनोट हुनेछन्। यस्तै, समूहको तेस्रो स्थानका टिमहरूबिच एक नकआउट खेल खेलाई विजेता टिम छनोट गरिने प्रवक्ता शाहले बताए। प्रतियोगितामा कुल ४३ वटा खेलहरू खेलिनेछन्।

एन्फाले प्रतियोगिताको अनुमानित कुल बजेट ८९ लाख ७३ हजार ५७१ रहेको बताएको छ। यो सबै बजेट एन्फालाई फिफाले उपलब्ध गराउनेछ।