मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
२o८२ श्रावण २८ बुधबार १६:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाका कारण उदयपुरको बेलकामा एक सयभन्दा बढी घर डुबानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार १६:४८:oo

अविरल परेको वर्षाका कारण उदयपुरको बेलका नगरपालिका– ३ मा एक सय १९ घर डुबानमा परेका छन् । सोही स्थानको स्थानीय गिदेरी खोला गाउँ पस्दा दुई टोलका जम्मा एक सय १९ घर डुबानमा परेका हुन् ।

बेलका नगरपालिका– ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले स्थानीय खहरे गिदेरी खोला गाउँ पस्दा स्थानीय सरस्वती आधारभूत विद्यालयसहित एबिसी टोलका ४० र जुलेफी टोलका ७९ वटा घर डुबेको जानकारी दिए ।

उनले भने, ‘घरको भुइँ तला पानीले भरिएको छ । अहिले खोला घट्नेक्रम भएकाले बस्न मिल्ने देखिन्छ ।’ उनले भुइँ घरमा रहेका सबै सामान माथिल्लो तलामा लगेकाले खाद्यान्न तथा लत्ताकपडा सुरक्षित रहेको र सर्वसाधारणहरू सुरक्षित रहेको पनि बताए ।

सरस्वती आधारभूत विद्यालयमा पानी पसेपछि पठनपाठन रोकिएको छ । बालुवासहितको लेदो घरमा पसेको उनको भनाइ छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले डुबान क्षेत्रमा अहिले सशस्त्र प्रहरी बलको टोली र नेपाल प्रहरी बलको टोली पुगेर घटना स्थलको निरीक्षण गर्ने काम भइरहेको बताए । 

उनले भने, ‘कुनै पनि जोखिम नभएको जानकारी आएको छ । झन्डै ८० घर डुबानमा परेको जानकारी हामीसँग आएको छ । डुबानमा परेका घरका तथ्यंक संकलन पनि जारी छ । पानी घट्दै गएकाले घरमै बस्न सक्ने अवस्था हुने देखिएको जानकारी आएको छ ।’ 

जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले कुनै पनि पशुचौपाया र मानवीय क्षति नभएको भन्दै खहरे खोलामा पानी बढेर गाउँ पसेको बताए । उनले भने, ‘खोलामा जलसतह बढेपछि गाउँ पसेको जानकारी आएको छ ।’ अविरल वर्षको कारण यता सप्तकोशी तटीय क्षेत्रमा निगरानी बढाइएको बताइएको छ ।