मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २८ बुधबार o५:४३:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : संस्कृत सिक्ने अठोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार o५:४३:oo

यो घटना सन् १८९२–९३ तिरको हो । लाहोर कलेजमा स्नातक तहमा एक गरिब विद्यार्थी पढ्थे । गरिब भए पनि उनी पढाइमा भने निकै तेज थिए । एकपटक अर्का एक छात्रले ती गरिब विद्यार्थीलाई हेप्ने उद्देश्यले होच्याउँदै भने, ‘ब्राह्मण भएर तिमी संस्कृतको साटो फारसी पढ्दै छौ । यो कति लाजमर्दो कुरा हो, भन त ।’

साथीको यस भनाइले ती विद्यार्थीलाई चसक्क बिझायो । उनले संकल्प गरे, एक न एक दिन म अवश्यै संस्कृत भाषा र साहित्यको राम्रो ज्ञान हासिल गरेरै छाड्नेछु । तत्काल उनले केही भनेनन् । उनले मुखले बोलेर प्रतिवाद गर्नुभन्दा पनि कामले नै त्यो पुष्टि गरेर देखाउने अठोट गरे । उनी छिटोभन्दा छिटो संस्कृतको मूलभूत जानकारी प्राप्त गर्न चाहन्थे । त्यसैले उनले संस्कृतका एकजना अध्यापकसँग गएर आफ्नो चाहना व्यक्त गरे । उनी सोही वर्षको संस्कृत भाषाको स्नातक तहको परीक्षामा सम्मिलित हुन चाहन्थे । उनको चाहना बुझेपछि पहिले ती अध्यापक मुसुक्क मुस्कुराए र भने, ‘रहर गर्नु त ठिकै हो, तर संस्कृत पढ्दै नपढेको विद्यार्थीले एकैपटक स्नातक तहको संस्कृतको परीक्षा कसरी दिन सक्छौ ?’

अध्यापकको रुखो जवाफ सुनेर पनि उनी निराश भएनन् । उनी आफ्ना बाबु, साथीहरू र कक्षाका जान्ने विद्यार्थीको सम्पर्कमा रहेर संस्कृत अध्ययनमा जुटे । त्यसको तीन महिनापछि उनी पुन: तिनै अध्यापककोमा पुगे । त्यहाँ पुगेपछि उनले संस्कृतको परीक्षा दिने अवसर मिलाइदिन अनुरोध गरे । उनको क्षमता जाँच्ने अभिप्रायले अध्यापकले प्रश्न सोध्दा उनले सबै प्रश्नको सही जवाफ सजिलै दिए । दृढ निश्चयी यी विद्यार्थी भारतीय सभ्यता र संस्कृतिका अमूल्य रत्न स्वामी रामातीर्थ थिए, जसले स्नातकको सो परीक्षामा विश्वविद्यालयभरिमै पहिलो स्थान प्राप्त गरे ।