मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
२o८२ श्रावण २७ मंगलबार १९:४३:oo
Read Time : < 1 मिनेट
समाचार

मनहरीका वडाध्यक्ष खनालले गरे ५२ वर्षमा स्नातकमा भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १९:४३:oo

अध्ययनमा उमेरको कुनै बाधा हुँदैन भन्ने उदाहरण दिएका छन्, मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनालले। ५२ वर्षको उमेरमा उनले स्नातक तहमा भर्ना हुँदै जीवनभरको पढ्ने चाहना पूरा गर्न कदम अघि बढाएका छन् ।

गत वर्ष व्यवस्थापन समितिका अध्यक्षसमेत रहेको विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेका खनाल मंगलबार हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायतर्फ स्नातक (ब्याचलर) अध्ययनका लागि भर्ना भएका हुन् ।

दुई कार्यकालदेखि वडाध्यक्ष रहेका खनालले ४८ वर्षको उमेरमा कक्षा ११ मा भर्ना भएर १२ कक्षा पास गरेका थिए । ‘विद्यालय उमेरमा एसएलसीपछि पढ्न छाडेको थिएँ । रहर त थियो, तर परिस्थितिले रोकेको थियो । अब चारवर्षे स्नातक पढेर आफ्नो अधुरो पढाइ पूरा गर्नेछु ।’ जनप्रतिनिधि भएकाले जनताको काममा व्यस्त रहँदा गत वर्ष स्नातक भर्ना गर्न नभ्याएको बताउँदै उनले यसपटक पढाइ र जनसेवा दुवैलाई सँगसँगै अघि बढाउने दृढता व्यक्त गरे । 

निर्मल बहुमुखी क्याम्पसका प्रमुख सुवासचन्द्र कँडेलले मंगलबार वडाध्यक्ष खनाललाई विशेष स्वागत गर्दै भर्ना गरिएको जानकारी दिए ।

स्थानीय तहको ०७४ सालको निर्वाचनमा कांग्रेसबाट विजयी भएका खनाल ०७९ सालमा पुनः वडाध्यक्ष बनेका थिए । विद्यालयको शिक्षा सुधार अभियानसँगै आफ्नो औपचारिक शैक्षिक योग्यता बढाउने उद्देश्य रहेको उनी बताउँछन् ।

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले वडाध्यक्ष खनालको कदम गाउँबासीका लागि प्रेरणा भएको बताए । ‘औपचारिक शिक्षा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा उहाँले व्यवहारमै देखाउनुभएको छ,’ उनले भने, ‘उहाँबाट नयाँ पुस्ताले निरन्तर अध्ययन आवश्यक छ भन्ने सिक्नुपर्छ।’

वडाध्यक्ष खनालको यो यात्राले पढ्नका लागि उमेर होइन, इच्छाशक्ति नै महत्त्वपूर्ण हो भन्ने सन्देश फैलाएको छ।