
गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा लोकमणि ढकाल र महासचिवमा सनतकुमार गौतम निर्वाचित भएका छन्।
०२५–२७ कार्यकालका लागि आइतबार भएको मतदानमा अध्यक्षका प्रतिस्पर्धी ज्योति राई र महासचिवका प्रतिस्पर्धी लोकेन्द्र सावालाई पराजित गर्दै ढकाल र गौतम निर्वाचित भएका हुन्।
अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेका छन्। एनआरएनए जर्मनीको ४ साउन (२० जुलाई)मा बर्लिनमा सम्पन्न १२औँ अधिवेशनसँगै उम्मेदवारी दर्ता गरिएको थियो।
यसबिचमा सहमतिको प्रयास सफल हुन नसकेपछि दुई पदका लागि आइतबार २५ साउन (१० अगस्ट) का लागि निर्वाचन घोषणा गरिएको थियो। नयाँ कार्यसमितिका लागि दिलबहादुर गुरुङको संयोजकत्वमा निर्वाचन समिति रहेको थियो।