
पछिल्लो समयमा वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा जडान भएको डिप बोरिङमा अनियमितता भइरहेकाे गुनासो बढेपछि त्यसलाई रोक्न नेकपा एमाले वीरगन्ज महानगर कमिटीले माग गरेको छ ।
एमाले मधेश प्रदेशका उपाध्यक्ष एवं महानगरपालिका इन्चार्ज बिचारी यादवको नेतृत्वमा महानगरका विभिन्न वडामा निर्वाचित वडाध्यक्षहरूको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग आइतबार भेट गरी ध्यानाकर्षण गराएका हुन् ।
टोलीले विपतको वेला स्थानीय जनप्रतिनिधिहरूको समन्वयविना खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय वीरगन्जबाट बोरिङ जडान भइरहेको भन्दै यसलाई तत्काल रोक्न माग गरिएको नेकपा एमाले महानगर कमिटी उपाध्यक्ष एवं वडाध्यक्ष रामकिशोर सिंह ( पराग) ले जानकारी दिए ।
साथै, डिभिजन कार्यालय प्रमुखले हालसम्म भएका बोरिङ जडानका तथ्यांक र अनुमानित लागत विवरण (इस्टिमेट) उपलब्ध नगराएकाे प्रमुख जिल्ला अधिकारीसँग गुनासाे गर्दै दुई दिनभित्र उपलब्ध नगराए लिखित रूपमा सूचना माग्ने र तैपनि उपलब्ध नगराए कार्यालयमा तालाबन्दी गर्ने टाेलीले चेतावनी पनि दिएको वडाध्यक्ष सिंहले बताए ।
‘संघ सरकारबाट भइरहेको बोरिङ जडान हचुवाको तालमा भइरहेको छ। जहाँ आवश्यकता छ, त्यहाँ भएको छैन, बरु मन्त्रीका कार्यकर्ताको घरअगाडि मात्र भइरहेको छ । स्थानीय जनप्रतिनिधिसँग कुनै समन्वय भएको छैन, जसका कारण समस्या अझै बढेको छ,’ एमाले महानगर इन्चार्ज यादवले भने ।’
प्रमुख जिल्ला अधिकारी अर्यालकहाँ डिलिगेसन गएकाे टोलीमा एमालेबाट निर्वाचित वीरगन्जका वडाध्यक्षहरू प्रदीप चौरसिया, सुरेश साह कानु, विजयप्रसाद कुर्मी, सञ्जु छतकुली, जितेन्द्र यादव, हिरा गिरी, अवधकिशोर कुशवाहलगायतको सहभागिता थियो ।