
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सरकारलाई दबाब सिर्जना गर्न संघर्ष समिति गठन गरिएको छ। आइतबार सिद्धार्थनगर नगरपालिकामा सम्पन्न उद्योगी, व्यवसायी जनप्रतिनिधिहरूको बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा दबाब दिन संघर्ष समिति गठन गरिएको सिद्धार्थनगरका मेयर इश्तियाक अहमद खाँले बताए।
बैठकले नगरप्रमुख इश्तियाक अहमद खाँको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो। संघर्ष समितिको सहसंयोजकमा नगर उपप्रमुख उमा अधिकारी तथा सदस्यहरूमा सिद्धार्थ होटेल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ छन्। अन्य सदस्यहरूमा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, संघकै पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी विष्णुप्रसाद शर्मा र सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली छन्।
समितिले कम्तीमा एक हप्तामा विमानस्थल सञ्चालनमा देखिएका समस्या, समाधानका उपाय र संघर्षका कार्यक्रमबारे खाका तयार पार्नेछ। यसपछि बृहत् पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ। यसपछि सबै पार्टीका जिल्लास्थित र केन्द्रका नेताहरूलाई भेट गरी ध्यानाकर्षण गराइने बताइएको छ। त्यसपछि विमानस्थल नियमित सञ्चालनमा नआउँदासम्म निरन्तर दबाबका कार्यक्रम गरिने नगरप्रमुख खाँले बताए।
नगरपालिकाको पहलमा आइतबार भैरहवामा आयोजित निजी क्षेत्र र संघसंस्थाहरूबिचको छलफलमा सहभागी निजी क्षेत्र र सरोकारवालाले अब संघर्ष गरेरै जानुपर्ने निचोड निकालेपछि समिति गठन गरिएको छलफलमा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए।
नियमित सञ्चालनमा नआए उपनिर्वाचन बहिष्कार गर्ने चेतावनी
बैठकमा सहभागी उद्योगी–व्यवसायी र स्थानीय तहका जनप्रतिनिधिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा नआए आगामी कात्तिक १७ मा हुने रुपन्देही– ३ को उपनिर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन्।
मुलुकका दुई ठुला दल कांग्रेस र एमालेको संयुक्त सरकार हुँदासमेत विमानस्थल नियमित सञ्चालनमा ध्यान नदिएको उनीहरूको गुनासो छ। नगरप्रमुख इश्तियाक अहमद खाँले नगरले नै नेतृत्व लिएर जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए। ‘विमानस्थललाई आवश्यक कार्यालय खुलेका छैनन्, सरकारले हाम्रो कुरा केही गरे पनि सुनेन,’ उनले भने, ‘यदि यो विमानस्थल अझै पनि सञ्चालन हुँदैन भने उपनिर्वाचन बहिष्कार गरेर जानुपर्छ।’ उनले यसका लागि आफू यस क्षेत्रका सबै जनताका घरघरमा पुग्न तयार रहेको बताए।
‘रुपन्देहीबाटै अर्थमन्त्री विष्णुप्रसाद पौडेल हुनुहुन्छ, पूर्वगृहमन्त्री बालकृष्ण खाण हुनुहुन्छ, उहाँहरूलाई विमानस्थलबारे चिन्ता छ। तर, काम हुन सकेको छैन। यसैले आन्दोलन नै गरेर कडा कदम चाल्नुपर्ने देखिन्छ,’ उनले भने।
उपप्रमुख उमा अधिकारीले उपनिर्वाचन नजिकिँदै जाँदा सबै दलका ठुला नेता रुपन्देही आउने भएकाले पहिलो चरणमा ती नेताहरूलाई भेटेर छलफल गरी दबाब सिर्जना गर्नुपर्ने बताइन्। ‘भन्सार र एयरपोर्ट बन्द गरेर आन्दोलन गर्ने होइन,’ उनले भनिन्, ‘अन्य माध्यमबाट दबाब दिऔँ, तर जसरी हुन्छ विमानस्थल चल्नुपर्छ ।’
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी विष्णुप्रसाद शर्माले सबैभन्दा पहिला विमानस्थल चलाउन आवश्यक कार्यालय खोलिनुपर्ने बताए। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले प्रधानमन्त्री भारत भ्रमणमा जान लागेकाले विमानस्थलको विषयलाई पहिलो एजेन्डा बनाएर लैजानुपर्ने बताए।
सिद्धार्थ होटेल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले अब आन्दोलनको विकल्प नभएको बताए। ‘हामीले मुख्यमन्त्री, विभागीय मन्त्री, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेका छौँ,’ उनले भने, ‘जति पहल गरे पनि सरकारले सुनेन। यहाँका जनताको भविष्यसँग जोडिएको विमानस्थल हो। त्यसैले अब चुप बस्नुहुँदैन।’
श्रेष्ठले अब निर्णायक आन्दोलन गर्नुपर्ने बताए। ‘उपनिर्वाचनलाई भनेर अहिले धमाधम सबै पार्टीका नेताहरू भैरहवा आइरहेका छन्। तर, विमानस्थलबारे बोल्दैनन्। यसको अर्थ उनीहरू विमानस्थल चलाउन चाहँदैनन्,’ उनले भने।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले सरकारकै इच्छाशक्ति नहुँदा विमानस्थल नियमित सञ्चालनमा नआएको बताए। सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले अब नाका र विमानस्थल बन्द गरेर आन्दोलन गर्नुपर्ने बताए।