
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले ‘डाइभर्सिटी कार्निभल विविधताको उत्सव’ आयोजना गर्ने भएको छ । देशभरका विविध समुदाय, लिंग र भाषाका डेढ सयभन्दा बढी युवाबिच उत्प्रेरक अन्तर्क्रिया, कार्यशाला र सिर्जनात्मक प्रस्तुतिसहित अगामी सोमबार काठमाडौंमा विविधताको उत्सव मनाइने भएको हो ।
उत्सवमा मुसहर समुयबाट पहिलोपटक डाक्टर बन्न सफल भएकी डा. स्मृति हरिजनले ‘कि नोट स्पिच’को रूपमा आफ्नो धारणा साझा गर्नेछिन् । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बा, कलाकार नाजिर हुसेनले ‘सपना, संघर्ष र सफलता’ शीर्षकको ‘प्यानल डिस्कसन’मार्फत आफ्नो विचार प्रस्तुत गर्नेछन् ।
उक्त प्यानलमा नेपाल सरकारका उपसचिव सुनीलकुमार पासमान र रेन्बा डिसाबिलिटी नेपालकी उपाध्यक्ष मीना जोशीले सीमान्त आवाजलाई साझा गर्नेछन् । उत्सवमा महिलाहरूको ब्यान्ड ‘कासा’ र सारंगी वादक किरण नेपालीको समूहहरूले सांगीतिक प्रस्तुति दिनेछन् भने एउटै क्यानभासमा चारजना कलाकारले ‘पेन्टिङ’ गर्नेछन् ।
सीमान्त आवाजहरूलाई साझा गर्दै नेपालको विविधतालाई उत्सवको रूपमा मनाउनका लागि डाइभर्सिटी कार्निभल आयोजना गरिएको दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले बताएको छ । कार्यक्रममा उपस्थित युवाहरू समूहमा विभाजित भएर सामाजिक भाष्य र त्यसको प्रभाव, युवा र अवसर, युवा र समग्र स्वास्थ्य, जलवायु विषयक कार्यशालामा गहन छलफल गर्नेछन् । युवाहरूको छलफलबाट आएको निष्कर्ष र सुझावहरूलाई सम्बन्धित निकायमा बुझाइने दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका अध्यक्ष प्रदीप परियारले बताए ।
कार्यक्रममा देशैभरिबाट दलित, मधेशी, महिला, आदिवासी जनजाति, थारू, मुस्लिम, अपांगता भएका व्यक्तिहरू तथा विविध यौनिक तथा लैंगिक पहिचान भएका युवाहरू सहभागी हुने आयोजकले जनाएको छ ।
विविधता र समावेशिताका बहस र छलफल भए पनि उही पात्र दोहोरिरहने भएकाले सुन्नैपर्ने र नसुनिएका कथाहरूलाई मुखरित गर्न उत्सवको आयोजना गरिएको संस्थाका अध्यक्ष परियारले उल्लेख गरे । युवाहरूले समावेशिताको मुद्दामा बोल्नुपर्ने र आफैँभित्र पनि त्यसको अभ्यास गर्नका लागि यो कार्यक्रमले टेवा पुग्ने उनको तर्क छ ।
जातीय असमानता, अपमान र प्रतिकूलताहरूविरुद्ध रचनात्मक प्रतिरोधी पुस्ता निर्माणका लागि स्थापना भएको संस्था दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सीमान्तकृत आवाजहरू मुखरित गर्दै आइरहेको छ । अन्तरजातीय विवाहका कारण रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएपछि स्थापना भएको यस संस्थाले युवाहरूको विचार सुन्नका लागि कास्ट कन्भर्सेसन नामक टेलिभिजन कार्यक्रम, मार्च टु जस्टिस अभियान, न्यायका लागि उत्तरदायी समाज र राज्यका लागि जस्टिस समिट– २०२५ लगायतका विविध अभियान गरिसकेको छ ।