Skip This
के भारत र चीन ‘शत्रु’ हुन सक्छन् ?
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
आशुतोष
२o८२ श्रावण २४ शनिबार १o:५o:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के भारत र चीन ‘शत्रु’ हुन सक्छन् ?

Read Time : > 3 मिनेट
आशुतोष
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार १o:५o:oo
  • ४० वर्षमा चीन १९ ट्रिलियन डलरको अर्थतन्त्र मात्र बनेको छैन, बरु यो एक प्राविधिक महाशक्ति पनि बनेको छ । कृत्रिम बुद्धिमत्ता र विद्युतीय सवारीसाधनको क्षेत्रमा यसको हालैको प्राविधिक सफलताले पश्चिमी संसारलाई स्तब्ध पारेको छ ।

‘चीन र भारत स्थायी शत्रुताका लागि अभिशप्त थिएनन् । उनीहरूले फेरि लामो समयसम्म शान्तिको आनन्द लिन सक्थे, तर त्यसो गर्न चीनले भारतलाई वार्ताको टेबलमा बोलाउन बल प्रयोग गर्नुपर्‍यो,’ हेनरी किसिन्जरले आफ्नो पुस्तक अन चाइना मा १९६२ मा भारत–चीन युद्धको सन्दर्भमा चीनको कम्युनिस्ट पार्टीका सर्वोच्च नेता माओत्सेतुङलाई उद्धृत गर्दै लेखेका छन् । भारतमा प्रारम्भिक आक्रमणपछि माओले अचानक गतिरोध अन्त्य गर्ने निर्णय गरे र सेनाका जनरल उनको कदमबाट अचम्मित भए । माओले जनरललाई व्याख्या गरे कि उनी कहिल्यै भारतलाई हराउन चाहँदैनथे; सम्पूर्ण सैन्य अभ्यास भारतलाई वार्ताको टेबलमा ल्याउनका लागि थियो ।

त्यसवेलादेखि चिनियाँ सेनासँग सीमामा झडप भएका छन्, तर कहिल्यै युद्ध भएको छैन । सबैभन्दा पछिल्लो झडप गलवानमा भएको थियो, जहाँ दुवै देशका सेना एकअर्कासँग लडेका थिए । यद्यपि, ‘अपरेसन सिन्दुर’को क्रममा भारतीय सेनाले एउटा अनौठो घटना देख्यो । भारतीय सेना एउटै सीमामा दुई शत्रुसँग लडिरहेको सशस्त्र बलका उपप्रमुख लेफ्टिनेन्ट जनरल राहुल सिंहले वर्णन गरेका छन् । उनको मतलब पाकिस्तानसँगै चीन पनि भारतविरुद्ध युद्ध लडिरहेको थियो । उसले आफ्नो हतियार परीक्षण गर्न युद्धको रंगमञ्च प्रयोग गर्‍यो । कुनै पनि परिभाषाअनुसार यो शत्रुतापूर्ण कार्य थियो । 

द्वन्द्वको जोखिम किन मोल्ने ?
बृहत् सन्दर्भमा यो सजिलै निष्कर्षमा पुग्न सकिन्छ कि चीन पाकिस्तानका लागि छद्म युद्ध लडिरहेको थियो । यो दुई सभ्यतावादी देशबिचको युद्ध थियो, जसले आफ्नो विगतप्रति ठुलो गर्व गर्छन् । एकअर्कासँग पाँचवटा युद्ध लडेका दुई परम्परागत प्रतिद्वन्द्वीबिचको युद्धमा चीन संलग्न हुनुको कुनै कारण थिएन । तर, उ संलग्न भयो । आखिर चीनले भारतसँग किन ठुलो द्वन्द्वको जोखिम उठायो ? उद्देश्य के थियो ? के यो भारतलाई वार्ताको टेबलमा आउन बाध्य पार्नु थियो, जसरी माओले सन् १९६२ को अक्टोबरमा आफ्ना सेनापतिलाई भनेका थिए ?

यस सन्दर्भमा भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको तस्बिर (जसमा उनी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हात मिलाएको देखिन्छन्) महत्वपूर्ण हुन्छ । जयशंकर सांघाई सहयोग संगठन (एससिओ)का विदेशमन्त्रीहरूको सम्मेलनमा भाग लिन बेइजिङ जाँदा उनले आफ्नो पोस्टमा प्रयोग गरेका शब्दले अर्थपूर्ण महत्व राख्छ । उनले लेखेका छन्, ‘राष्ट्रपति सीलाई हाम्रो द्विपक्षीय सम्बन्धको हालैको विकासबारेमा जानकारी गराएँ । त्यस सन्दर्भमा हाम्रा नेताहरूको मार्गदर्शनको कदर गर्नुहोस् ।’ यो कल्पना गर्न गाह्रो छ कि यी शब्दहरू एक देशका लागि थिए जो केही हप्ताअघि मात्र ठुलो युद्धजस्तो कारबाहीमा संलग्न भएको थियो र त्यसवेलादेखि भारतको आर्थिक वृद्धिमा बाधा पुर्‍याउने प्रयास पनि गरेको छ । हालैका दिनमा चीनले जानाजान भारतमा दुर्लभ भूमि सामग्री र विशेष मलको निर्यात रोक्न खोजेको छ र यसले फक्सकनका लागि काम गर्ने आफ्ना तीन सयभन्दा बढी इन्जिनियरहरूलाई फिर्ता बोलाएको छ । भारतले गणना गरेको छ कि चीन वर्तमान विश्वव्यापी परिदृश्यमा धेरै महत्वपूर्ण देश हो र यससँग शान्तिपूर्ण सम्बन्ध राख्नु राम्रो हो ।

चीनको उल्लेख्य प्रगति
हामीले बुझ्नुपर्छ कि विदेश नीति मित्रता र व्यक्तिगत सम्बन्धका बारेमा होइन, बरु राष्ट्रिय हितलाई अगाडि बढाउने बारेमा हो । र, यदि मोदी सरकारले चीनसँगको सम्बन्ध सुधार्ने निर्णय गरेको छ भने यो राम्रो कदम हो । चीन हाल एक महाशक्तिबाट विश्वको नम्बर एक देश बन्ने ठुलो परिवर्तनको सँघारमा छ । यसलाई सहयोगी र साझेदारको आवश्यकता छ ।

माओको समयदेखि चीनले ठुलो प्रगति गरेको छ । सन् १९७० को दशकमा भारत र चीन लगभग समान आर्थिक आकारका थिए । तथापि, माओको प्रस्थानपछि देङका सुधारले चीनलाई पहिचानभन्दा बाहिर परिवर्तन गरेको छ । इतिहासमा कुनै पनि देशले चीनले जसरी यति छोटो समयमा उल्लेखनीय आर्थिक वृद्धि गरेको छैन । ४० वर्षमा चीन १९ ट्रिलियन डलरको अर्थतन्त्र मात्र बनेको छैन (अमेरिकापछि विश्वमा दोस्रो) बरु यो एक प्राविधिक महाशक्ति पनि बनेको छ । कृत्रिम बुद्धिमत्ता र विद्युतीय सवारीसाधनको क्षेत्रमा यसको हालैको प्राविधिक सफलताले पश्चिमी संसारलाई विशेष गरी अमेरिकालाई स्तब्ध पारेको छ । लाजमर्दो कुरा त अमेरिकाको विपरीत चीनको प्रविधि धेरै सस्तो छ । यसको विद्युतीय मोटरकार बिवाईडी विश्वव्यापी रूपमा टेस्लाको अडानलाई हल्लाउने क्षमता राख्छ । आज एलन मस्क एक चिन्तित मानिस हुन् । त्यस्तै गरी, चीनको लागत–प्रभावी डिपसिक (चीनको एआई स्टार्टअप)ले अमेरिकाको एआई बजार र प्रविधिका लागि अस्तित्वगत चुनौती खडा गर्छ ।

‘अपरेसन सिन्दुर’को समयमा चीनले यो पनि देखाएको छ कि यसले एआई, सेन्सर र इन्टरनेटको नेटवर्कमार्फत वायु प्रभुत्व हासिल गर्न सक्ने धेरै उन्नत सैन्य प्रविधि विकास गरेको छ । 

तर्कसंगत सोच 
नि:सन्देह सन् १९९१ को आर्थिक सुधारपछि भारतले पनि धेरै प्रगति गरेको छ । यो आज सबैभन्दा चलायमान र सम्भवत: विश्वको चौथो ठुलो अर्थतन्त्र भएको देश हो । तर, यो अझै पाँच ट्रिलियन डलरको अर्थतन्त्र होइन र चीनको आर्थिक र प्राविधिक उचाइसँग मेल खान संघर्ष गरिरहेको छ । चीन आज एक उत्पादनशील ‘जायन्ट’ हो र विश्वमा उत्पादित सामानको लगभग ३१.६ प्रतिशत ओगटेको छ । भारत अझै पनि विकासशील अर्थतन्त्र हो, जसमा ८० करोड मानिसलाई सरकारले ठुलो मात्रामा सेवा दिएको छ । यसको प्रतिव्यक्ति आय केवल २८ सय ७८ डलर छ, जसले यसलाई १९६ देशहरूमध्ये १४३औँ स्थानमा राख्छ । प्रतिव्यक्ति आय २५ हजार तीन सय सात डलरको साथ चीन ७०औँ स्थानमा छ । भारतको उत्पादन क्षेत्र सुस्त छ । मेक इन इन्डिया र आत्मनिर्भर भारतजस्ता हालैका पहलहरूको बाबजुद विश्वव्यापी बजारमा यसको योगदान केवल २.९% छ ।

सी जिनपिङ सर्वोच्च नेता बनेदेखि चीन महत्वाकांक्षी देखिन्छ र विश्वभर आफ्नो छत्रछाया फैलाइरहेको छ । यो अफ्रिकामा एउटा दुष्टजस्तै विस्तार भएको छ । दक्षिण एसियामा यसले भारतलाई चारैतिरबाट कूटनीतिक रूपमा घेराबन्दी गरिरहेको छ । एक समय रुससँगको आफ्नो ऐतिहासिक सम्बन्धमा धेरै गर्व गर्ने भारतको अहिले त्यस्तो अवस्था छैन । आज, रुस चीनको सबैभन्दा मिल्ने मित्रराष्ट्र हो– ‘अपरेसन सिन्दुर’को समयमा मस्कोको अजीब मौनता यसको संकेत हो । रुसले हालै पाकिस्तानलाई प्राकृतिक सहयोगी र साझेदार पनि भनेको छ । दलाई लामाको अवतारको मुद्दामा चीनको तीतो प्रतिक्रिया पनि भारतका निर्णयकर्ताका लागि संकेत हो ।

(सत्यहिन्दीका सहसंस्थापक आशुतोषको आलेख ‘एनडिटिभी’बाट सुभाष शर्माले अनुवाद गरेका हुन् ।)