
साउन महिनामा चुरापोते किन्नेको भिड हुने काठमाडौंको इन्द्रचोक बजार यो वर्ष लगभग शून्य छ।
विशेष गरी साउनमा चुरापोते तथा मेहेन्दीको व्यापार बढी हुने भए पनि यसपालि गत वर्षभन्दा कम व्यापार भएको व्यापारीहरू बताउँछन्। अघिल्ला वर्ष यो समयमा भुइँमा खुट्टा राख्ने ठाउँ नहुने पोते बजार अहिले सुनसान देखिन्छ।
नेपाली बजारमा उपलब्ध प्लास्टिक, काँच, लाहालगायतका चुरा भारतलगायतका मुलुकबाट आयात हुने गरेको छ। त्यस्तै चीन, चेक रिपब्लिक, जापान, ताइवानलगायतका मुलुकबाट लुङमाला, चोक्कर, लगन पोतेलगायतका पोते बजारमा उपलब्ध छन्।