
काभ्रेको पाँचखाल नगरपालिका– १२, बगुटारका ४१ वर्षीय राजु लामा तामाङ सात वर्षअघि मलेसिया गएका थिए । सन् २०२२ सम्म परिवारको नियमित सम्पर्कमा रहेका उनी एकाएक सम्पर्कविहीन बने । अहिले उनी जीवित या मृत के छन् भन्ने जानकारी परिवारका सदस्यले पाउन सकेका छैनन् । श्रीमान्को खोजीमा ताहचलस्थित वैदेशिक रोजगार विभाग पुगेकी उनकी श्रीमती लालमाया तामाङले भनिन्, ‘सन् २०१८ मा वैदेशिक रोजगारका क्रममा श्रीमान् मलेसिया गएका थिए । टेलिफोनमा नियमित कुराकानी हुने गथ्र्यो । खर्च पनि पठाउनुहुन्थ्यो । तीन वर्षदेखि एकाएक सम्पर्कविहीन बन्नुभयो । धेरै ठाउँ सोधीखोजी गर्यौँ । तर, उहाँको स्थिति अज्ञात छ ।’
लालमायाका अनुसार राजु मलेसियास्थित थाई फ्याट टायर सर्भिसमा मजदुरी गर्थे । कम्पनीबाट आएको तलब तुरुन्तै घर पठाउँथे । सोही खर्चले लालमाया घर चलाउँथिन् । छोराछोरीलाई विद्यालय पढाउँथिन् । श्रीमान् सम्पर्कविहीन भएसँगै लालमायाको आम्दानीको स्रोत पनि बन्द भयो । अहिले उनलाई परिवार चलाउन मुस्किल परेको छ । ‘श्रीमान्ले पठाएको पैसाले घरपरिवार चलाउँथे । छोराछोरीलाई स्कुल पढाउँथे । तीन वर्षदेखि श्रीमान् बेपत्ता भएसँगै आम्दानीको स्रोत पनि बन्द भयो । अरू आम्दानीको स्रोत नभएकाले परिवार चलाउन मुस्किल परेको छ,’ उनले भनिन् ।
लालमाया र राजुबिच दैनिकजसो सामाजिक सञ्जालमार्फत संवाद हुने गथ्र्यो । संवादका क्रममा दुईबिच सामान्य ठाकठुक भयो । रिसाएका राजुले ‘अब सम्पर्क नगर्नू’ भन्दै फोन काटे । सोही दिनदेखि राजु परिवार र आफन्त कसैसँग सम्पर्कमा नभएको लालामायाले बताइन् । ‘२०१८ मा श्रीमान् मलेसिया गएका थिए । हामीबिच सामाजिक सञ्जालमा कुराकानी हुने गथ्र्यो । यही क्रममा ठाकठुक पर्यो । त्यसपछि उनी एकाएक सम्पर्कविहीन बने । उनी कहाँ छन् अत्तोपत्तो केही छैन,’ उनले भनिन् ।
झापाको शिवसताक्षी नगरपालिका– ५ सालमारका ४५ वर्षीय त्रिलोचन पौडेल २६ वैशाख ०८१ मा वैदेशिक रोजगारका लागि युएई पुगे । उनी सुनसरीको इटहरीस्थित स्काई म्यानपावरबाट गएका थिए । जाने वेला उनलाई कम्पनीले आकर्षक तलब हुने भनेको थियो । तर, उनी जब युएई पुगे न भने जस्तो काम पाए, न तलब नै । उनले कामको सम्बन्धमा कम्पनीसँग गुनासो गरे । तर, कम्पनीले उनको गुनासो सुनुवाइ गरेन । ६ महिनासम्म उनले जेनतेन काम गरे । जति घोटिए पनि महिनाको १५ हजार रुपैयाँभन्दा धेरै कमाइ नहुने भएपछि उनी नेपाल फर्कने मनस्थितिमा पुगे । निर्णय लिनुअघि उनले परिवारका सदस्यसँग छलफल गरे । परिवारका सदस्यले पनि घर फर्कन भनेपछि उनी पासपोर्ट लिन कम्पनीकहाँ जान्छु भनेका थिए । त्यही दिनदेखि उनी सम्पर्कविहीन छन् ।
‘श्रीमान् युएई गएको एक वर्ष पुग्यो । गत १५ कात्तिकसम्म काम राम्रो भएन भन्नुहुन्थ्यो । हामीले घर फर्कन भन्यौं । उहाँले पासपोर्ट लिन कम्पनी जान्छु भन्नुभयो । ६ मंसिरमा उहाँसँग अन्तिमपटक सम्पर्क भयो । त्यसयता भने उहाँसँग परिवारका कसैले पनि कुराकानी गर्न सकेका छैनौँ । उहाँ कहाँ हुनुहुन्छ केही खबर पाउन सकेका छैनौँ,’ नयाँ पत्रिकाको सम्पर्कमा आएकी त्रिलोचनकी श्रीमती निर्मला पौडेलले भनिन् । उनका अनुसार त्रिलोचनको खोजीका निम्ति युएईस्थित नेपाली समाज लागिपरेको छ । दुबईस्थित नेपाली दूतावास पनि जानकार छ । खोजीका निम्ति निर्मलाले नेपालस्थित वैदेशिक रोजागार बोर्ड, कन्सुलर विभाग, वैदेशिक रोजागर विभाग सबै ठाउँमा हारगुहार गरेकी छिन् । तर, त्रिलोचनको अत्तोपत्तो पाउन सकेकी छैनन् । ‘श्रीमान् सम्पर्कविहीन भएलगत्तै वैदेशिक रोजागर बोर्ड, कन्सुलर विभाग, वैदेशिक रोजागर विभाग सबैलाई भनेकी छु । युएईमा रहेको नेपाली समाजलाई पनि खोजीका निम्ति आग्रह गरेकी छु । तर, कसैले पनि श्रीमान्को स्थितिबारे पत्ता लगाउन सकेका छैनन्,’ उनले भनिन् ।
दाङका राजकुमार विक वैदेशिक रोजगारका क्रममा दुई वर्षअघि माल्दिभ्स गएका थिए । परिवारका सदस्यसँग नियमति सम्पर्कमा रहेका उनी गत पुसदेखि एकाएक सम्पर्कविहीन बने । खबर बुझ्न माल्दिभ्समा नेपाली दूतावास छैन । परिवारका सदस्यले श्रीलंकास्थित नेपाली दूतावासबाट राजकुमारको स्थिति बुझ्ने प्रयत्न गरे । माल्दिभ्सस्थित केही सहकर्मीले राजकुमारको मृत्यु भएको खबर गरे । तर, काम दिने कम्पनीले भने राजकुमार बेपत्ता भएको पत्र दूतावासमा पठाएको छ । स्थिति बुझ्न राजकुमारको परिवारका सदस्य प्रत्येक महिना बबरमहलस्थित वैदेशिक रोजगार बोर्डमा पुग्ने गर्छन् । तर, बोर्डले उनको स्थिति पत्ता लगाउन सकेको छैन ।
‘राजकुमार माल्दिभ्समा काम गर्न गएका रहेछन् । उनी गत पुसदेखि सम्पर्कविहीन छन् । खोजीका लागि कन्सुलर विभाग, श्रीलंकास्थित नेपाली दूतावास सबैतिर भनेका छौँ । तर, ठोस स्थिति अझै प्राप्त हुन सकेको छैन । उहाँको परिवारका सदस्य सधैँ आउनुहुन्छ । हामीसँग गुनासो गर्नुहुन्छ । तर, राजकुमारको वास्तविक स्थितिबारे जानकारी नपाउँदा उहाँहरू निराश भएर फर्कनुहुन्छ,’ विभागकी अधिकृत शान्तिकुमारी सिंहले भनिन् ।
वैदेशिक रोजगारका क्रममा विदेशमा बेपत्ता भएकाको खोजी गर्ने काम सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावासको हो । जसका लागि विवरण संकलन गर्ने काम नेपालस्थित कन्सुलर सेवा विभागले गर्छ । विभागको तथ्यांकअनुसार वर्किङ भिसामा गएकामध्ये बेपत्ता नागरिकको संख्या नौ पुगेको छ । जसमध्ये आठजना साउदी अरब र एकजना युएईमा बेपत्ता भएका छन् ।
कन्सुलर विभागका सूचना अधिकारी टीकाराम उपाध्यायले वर्किङ भिसामा गएकामध्ये बेपत्ता भएको भन्दै उजुरी गर्नेको संख्या नौ पुगेको बताए । ‘विभागमा उपलब्ध तथ्यांकअनुसार हालसम्म साउदी अरबमा आठ र युएईमा एकजना सम्पर्कविहीन भएको जानकारी छ । केही व्यक्ति रसियामा पनि हराएको भन्ने आएको छ । तर, यो अति नै संवेदनशील विषय भएकाले अध्ययन गरेर मात्रै यस विषयमा नयाँ तथ्य सार्वजनिक गर्न सकिएला,’ उनले भने ।
विभागका अनुसार बेपत्ता हुने मुख्य कारण पारिवारिक कलह रहेको देखिएको छ । विभिन्न अभियोगमा जेल पर्ने भएकाले वर्किङ भिसामा गएकाहरू बेपत्ता हुने गरेको विभागको बुझाइ छ । ‘सम्पर्कविहीन हुनुको मुख्य कारण पारिवारिक कारण नै बढी देखिन्छ । अर्कोतर्फ विभिन्न अभियोगमा जेलमा हुने र जेल प्रशासनले समय–समयमा घरपरिवार तथा दूतावासलाई जानकारी उपलब्ध नगराउने हुनाले पनि घरपरिवारले सम्पर्कविहीन भएको गुनासो गर्नुहुन्छ,’ उपाध्यायले भने ।
बेपत्ता परिवारले पाउँदैनन् सुविधा
वर्किङ भिसामा वैदेशिक रोजगारमा गएकाहरू मृत्यु भए वा गम्भीर घाइते भएमा सरकारले परिवारका सदस्यलाई क्षतिपूर्तिबापत रकम उपलब्ध गरउँछ । त्यसका लागि सरकारले वैदेशिक रोजागर कल्याणकारी कोष स्थापना गरेको छ । कोषमा तीन वर्ष करार अवधि भएका कामदारबाट प्रतिव्यक्ति एक हजार ५०० र तीन वर्षभन्दा धेरै करार अवधि भएका कामदारबाट प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ जम्मा हुने प्रावधान छ । सोही रकमबाट वैदेशिक रोजगार बोर्डले कामदारको उद्धार तथा खोजतलास, शव झिकाउने र ढुवानी गर्ने, परिवारको औषधि उपचार, अंगभंग भएका र मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने गर्छ । वैदेशिक रोजगार नियमावली, ६४ को नियम २८ अनुसार मृत्यु भएका कामदारको परिवारलाई सात लाख रुपैयाँ र अंगभंग भएका कामदारलाई उपचारका लागि सात लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ । तर, बेपत्ता भएकाको परिवारलाई यस खालका कुनै सहायता उपलब्ध गराउने प्रावधान कानुनमा छैन । बोर्डका प्रवक्ता गुरु सुवेदीले वैदेशिक रोजगारमा भएका र उत्तै बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने कानुनी प्रावधान नभएको बताए । ‘कामदार विदेशमा बेपत्ता भए भन्दै हामीकहाँ गुनासो लिएर आउने धेरै छन् । आर्थिक सहायता उपलब्ध गराउन भन्छन् । खोजतलासका निम्तिसबैलाई कन्सुलर विभागमा पठाइदिन्छौं । किनकि बेपत्ता कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने कानुनी प्रावधन छैन,’ उनले भने ।
वैदेशिक रोजगार कल्याणकारी कोषमा पाँच अर्ब ३५ करोड
वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ (१) अनुसार वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारमा जानुअघि करार अवधि तीन वर्षसम्मको भएमा एक हजार पाँच सय रुपैयाँ र तीन वर्षभन्दा बढीको भएमा दुई हजार पाँच सय रुपैयाँ कोषमा जम्मा गर्नुपर्छ । जुन कोषको शुद्ध आम्दानी हो । त्यसबाहेक स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरण र नवीकरण हुँदा पनि निश्चित रकम कोषको खातामा जम्मा हुन्छ । बोर्डका अनुसार यसरी जम्मा भएको रकम हालसम्म पाँच अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । उक्त रकम मुलुकको विभिन्न बैंकमा राखिएका छन् । जसबापत कोषले नियमअनुसारको ब्याज प्राप्त गर्छ । सोही ब्याजबापतको रकमबाट बोर्डले वैदेशिक रोजगारमा भएकाहरूका लागि कल्याणकारी काम गर्ने गर्छ । ‘कोषमा कामदारको करार अवधिको आधारमा निश्चित रकम जम्मा हुने गर्छ । त्यसबाहेक वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था नवीकरण र सूचीकरण हुँदाका बखत पनि निश्चित रकम कोषमा जम्मा हुन्छ । यसरी जम्मा भएको रकम पाँच अर्ब ३५ करोड पुगेको छ । सोही रकमबाट प्राप्त हुने ब्याजले कल्याणकारी काम हुँदै आएको छ,’ बोर्डका प्रवक्ता गुरु सुवेदीले भने ।
गत ११ महिनामा कोषको सवा अर्ब खर्च
वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २६ (१) अनुसार कोषको रकम वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारबाट फर्किएर आएका कामदारका परिवारको शैक्षिक विकासमा सहयोग गर्न, वैदेशिक रोजगारमा गएका कामदारको परिवारको स्वास्थ्य उपचारमा सहयोग गर्न, वैदेशिक रोजगारमा गएका महिला कामदारको बालबच्चाको उचित संरक्षणका लागि शिशु स्याहार केन्द्र स्थापना र सञ्चालन गर्न, रोजगारी गुमाई अलपत्र परेका वैदेशिक रोजगारमा गएका कामदारलाई उद्धार गरी सुरक्षित राख्न सुरक्षित गृह सञ्चालन गर्न, दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि पूरा गर्न नसकी स्वदेश फर्किएका वैदेशिक रोजगारमा गएका कामदारका लागि पुन: एकीकरण तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्नलगायत १७ शीर्षकमा खर्च गर्न सकिन्छ ।