
नेपाल–चीन सीमाना मितेरीपुलबाट पाँचसय मिटर यता कोदारीस्थित इको पहिरोका कारण तातोपानी नाका कष्टकर बनेको छ । पहिरो खसिरहने र भोटेकोसी नदीले तलबाट तानिरहने क्रम एक महिनादेखि चलिरहेको छ । सडक डिभिजन र स्थानीय दबिएको हिलो ढुंगामाटो पन्छाउन लागेका भएपनि पहिरो नियन्त्रण हुन सकेन ।
पहिरो नियन्त्रण हुन नसक्नाको मुख्य कारण सरकारी निकायले झारो टार्ने काम गर्छ भने भूगोल पनि बगिरहने खालको छ। इको पहिरोले तातोपानी नाकाको व्यापार चौपट बनाएको छ। मानसरोवर जाने र आउने तिर्थयात्री यही पहिरोका कारण समस्यामा परेका छन् । पाँचसय भन्दा बढी मालबाहक कन्टेनर १५ दिनदेखि चिनियाँ क्षेत्रमा अलपत्र छन्।
यही समस्यालाई मध्येनजर गरेर भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा ज्ञापनपत्र बोकेर राजधानी गएका छन्। उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर नाकाको समस्याबारे जानकारी गराएका छन्। मन्त्रीज्यूले एक हप्ताभित्र समस्या समाधान गर्ने बचन दिनुभएको छ,’ अध्यक्ष शेर्पाले भने, ‘ज्ञापनपत्र बुझ्नसाथ सबै निकायलाई फोन गरेर निर्देशन पनि दिनुभएको छ ।
पहिरो बनाउन सडक डिभिजिन कार्यालय चरिकोटले नियमित रुपमा एक्स्काभेटर प्रयोग गर्ने गर्छ । स्थानीय व्यापारीले पनि दिनहुँजसो सडक सफा गर्छ । यद्यपि, सडकमाथिबाट धिमा गतिमा बग्ने दबदबे पहिरोले सडक नियमित अवरुद्ध हुन्छ । पहिरोमाथि कोदारी गाउँ छ । ३० भन्दा बढी घर पनि सोही पहिरोको जोखिममा परेका छन् । केही दिनयता परेको पट्यारलाग्दो झरीले नाका अस्तव्यस्त बनेको छ । यात्रुबाहक गाडी तातोपानीमै रोकिएका छन् भने चीनबाट आउने मालबाहक कन्टेनर सीमा क्षेत्रमा अलपत्र परेका छन् ।