
जिल्ला प्रशासन कार्यालय उदयपुरले चौदण्डीगढी नगरपालिका क्षेत्रका औषधि पसल तथा मेडिकल हलहरूमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएको एक मेडिकल हलमा ताला लगाइएको छ भने तीनवटालाई जरिवाना गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेय नेतृत्वको अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका–४, बसाहामा महेन्द्र मण्डलद्वारा सञ्चालित बिज मेडिकल हलले अवैध रूपमा सेवा दिएको पाइएपछि ताला लगाएको छ ।
यस्तै, दर्ता प्रमाणपत्र नभएको भन्दै पाथीभरा डेन्टल क्लिनिक, शुभम् डेन्टल प्रालि र दिव्यान्स फार्मेसीलाई जरिवाना गरेको छ । उनले भने, ‘दिव्यान्स फार्मेसीलाई दुई हजार पाँच सय र पाथीभरा डेन्टल क्लिनिक, शुभम् डेन्टल प्रालि तीन-तीन हजार जरिवाना गरिएको छ ।’
यसैगरी, अनुगमन टोलीले तीनवटालाई सचेत गराएको छ । जिल्ला स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय गाईघाट र स्थानीय पालिकाका प्रतिनिधिहरूको संयुक्त टोलीले अनुगमन गरेको हो । औषधि पसलहरूमा अनुगमन गर्दा म्याद समाप्त भएका औषधिहरूसमेत भेटिएकाले जफत गरिएको छ ।
पाण्डेयले जनस्वास्थ्यको विषय जोडिएकाले औषधि पसलहरूमा अनुगमन सुरु गरिएको बताए । उनले भने, ‘जिल्लाव्यापी रूपमा अब अनुगमन हुनेछ ।’