
भारतका उपराष्ट्रपति जगदीप धनखरले स्वास्थ्यको कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार राष्ट्रपति द्रौपदी मुर्मुलाई पठाएको राजीनामामा धनखरले अब आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने अवस्था आएकाले जिम्मेवारी पूरा गर्न नसक्ने बताएका छन् । ‘संविधानको धारा ६७ (क) अनुसार, म तत्काल लागू हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिन्छु,’ राष्ट्रपतिलाई पठाएको पत्रमा धनखरले भनेका छन् ।
७४ वर्षीय धनखरले अगस्ट २०२२ मा भारतको उपराष्ट्रपति पदको पदभार ग्रहण गरेका थिए । उनको कार्यकाल २०२७ सम्म थियो । कार्यकाल सकिनुअघि नै राजीनामा दिएकाले अहिले उपराष्ट्रपतिकोे राजीनामाबारे प्रश्न उठेको छ ।
भारतको संविधानअनुसार देशको उपराष्ट्रपतिको मृत्यु, राजीनामा वा बर्खास्तीका कारण सो पद रिक्त हुन्छ । संविधानमा उपराष्ट्रपतिको पद यथाशक्य चाँडो पूर्ति गर्नुपर्ने भनिएको छ । यससम्बन्धी कानुनअनुसार सामान्य अवस्थामा निवर्तमान उपराष्ट्रपतिको कार्यकाल समाप्त भएको ६० दिनभित्र अर्को उपराष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्छ । यो निर्वाचन प्रक्रिया उपराष्ट्रपतिको कार्यकाल समाप्त हुनुभन्दा अगाडि नै सम्पन्न हुन्छ ।