
विकासले बनाएको सडकमा चिल्ला गाडी कुददा
कसले सुन्छ सडकमुनि हाम्रा नानी भोकभोकै रुँदा ?
यो भाव मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित भाती गोकुवा मुसहर बस्तीको वास्तविकता हो । विकासका क्रममा बनेका चिल्ला सडकमा गाडीहरू दौडिरहेका छन्, तर सोही सडकको छेउमा रोग र भोकले रुँदै गरेका उनीहरूका नानीहरूको आवाज सुन्ने कोही छैनन्।
सरकारले करोडौँ रुपैयाँ खर्चेर उनीहरूको बस्ती अघिल्तिर चिल्लो सडक त बनाएको छ, तर करिब एक सय मुसहर परिवारहरूको अवस्थाबारे अझै कसैले चासो दिएको छैन। बरु सडक बनेपछि कहिले उठिबास लगाइने हो भन्ने चिन्ताले थप सताइरहेको छ। किनकि सडक बनेसँगै बस्तीअगाडि महँगो रेस्टुराँ खुलेका छन्, घडेरी कारोबार गर्नेहरू पनि सक्रिय हुन थालेका छन्।
भाती गोकुवास्थित मुसहर परिवार बस्दै आएको जमिन ऐलानी हो। उनीहरू कोही पनि पहुँचवाला वा सरकारी जागिरे छैनन्। कोही कृषि मजदुरी गर्छन् भने कोही उद्योगहरूमा ज्याला मजदुरी गर्छन्। बस्तीमा १२ पास गरेका युवाहरूसमेत कोही छैनन्। बालबालिकाहरू बल्लतल्ल स्कुल जान थालेका भए पनि आधारभूत तहमै पढाइ छाडेर मजदुरी गर्न बाध्य छन्।
गाउँकी अगुवा महिला रम्भा ऋषिदेव दलित महिला संघ मोरङमा आबद्ध छन्। औपचारिक शिक्षित नभए पनि कार्यक्रमहरूमा सहभागी हुँदै हक अधिकारबारे थाहा पाएकी उनी गाउँमा महिला समूह गठन गर्न सफल भएकी छिन् । तर, सशक्तीकरणका लागि कतैबाट आवश्यक सहयोग नपाउँदा उनी दुःखी छन्। बस्तीमा अधिकांशले नागरिकता र जन्म दर्ता गरेका छन्। तर शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र रोजगारीका अवसर सहज रूपमा पाउन सकेका छैनन्। उच्च शिक्षा, सरकारी जागिर, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा उनीहरूका लागि ‘कुन चरीको नाम हो’ झैँ छ।
रम्भा ऋषिदेव भन्छिन्, ‘सर, हाम्रो बस्तीछेउमै चिल्लो सडक त बन्यो, तर जीवनमा कुनै परिवर्तन आएको छैन, कसैले चासो दिएको छैन । सडक बन्दा पनि हामीले रोजगारी पाएका छैनौँ।’
मुसहर संघ कोशी प्रदेशका सचिव धर्मेन्द्र ऋषिदेवका अनुसार गोकुवा मात्र नभई देशभर करिब १० लाख मुसहरको अवस्था यस्तै दयनीय छ। उनका अनुसार सुरुमा बसोबासका लागि उनीहरूलाई आशा देखाएर राखिन्छ । श्रम शोषण गरिन्छ र पछि उठिबास लगाएर बिचल्ली पारिन्छ। सचिव ऋषिदेव भन्छन्, ‘सरकारले गाउँगाउँमा अर्बौं रुपैयाँ खर्चेर केही व्यक्तिका लागि चिल्लो सडक बनाउनेभन्दा पनि दलित मुसहरहरूको दयनीय अवस्थालाई परिवर्तन गर्ने काममा प्राथमिकता दिनुपर्छ।’